कनेक्ट आईपीएसको नाममा फिशिङ लिङ्क पठाएर बैङ्क खाता रित्याउने गिरोह सक्रिय
बैशाख २३, २०८३ ७:३२
काठमाडौँ । विभिन्न फिशिङ लिङ्कमार्फत व्यक्तिगत विवरण र बैङ्क खातामा अनधिकृत पहुँच पुर्याई ठुलो रकम चोरी गर्ने प्रवृत्ति बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय अज्ञात आपराधिक गिरोहले कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम राखेर connectips.live, connectips. support, connectips-support. com र connectsips. com जस्ता भ्रमपूर्ण लिङ्कहरू पठाएर बैङ्क खाताबाट रकम चोरी गरिरहेको ब्युरोले जनाएको हो ।
अपराधीहरूले प्रयोगकर्ताको मोबाइलमा +९७७९७६७९५२८०८ र ९७६४८८८२३१ जस्ता नम्बरहरू तथा OWP_ALERT र AT_ALERT जस्ता नामबाट सन्देश पठाउने गरेका छन् । ती सन्देशहरूमा 'तपाईँको खाता बन्द गरिएको छ’ (Your Account Is Locked) वा ‘कनेक्ट आईपीएस बन्द गरिएको छ’ (ConnectIPS Account Locked) भन्दै खाता पुनः सञ्चालन गर्नका लागि भन्दै झुक्याएर फिशिङ लिङ्कमा क्लिक गर्न लगाउने गरेको पाइएको छ ।
यस्ता लिङ्कहरूमा क्लिक गर्नासाथ प्रयोगकर्ताको बैङ्किङ विवरणमा पहुँच पुर्याई गिरोहले पैसा चोरी गर्ने गरेको ब्युरोले जनाएको छ । यस्ता किसिमको चोरीबाट बच्न कुनै पनि शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्न र बैङ्किङ कारोबारका लागि सधैँ आधिकारिक वेबसाइट तथा एप मात्र प्रयोग गर्न ब्युरोले आग्रह गरेको छ ।
आफ्ना व्यक्तिगत र बैङ्किङ विवरणहरू सधैँ गोप्य राख्न तथा कसैलाई पनि उपलब्ध नगराउन समेत विशेष ध्यान दिन अनुरोध गरिएको छ । यदि कसैले यस्ता सन्देश वा लिङ्कहरू प्राप्त गरेमा वा ठगीमा परेमा तुरुन्तै नेपाल प्रहरीको साइबर ब्युरो, सम्बन्धित बैङ्क वा नजिकैको प्रहरी निकायमा खबर गर्न ब्युरोले आग्रह गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८३ ८:३
