काठमाडौँ । मसिन लर्निङ (एमएल) इन्जिनियर प्रलिशा कंसाकारको व्यावसायिक पहिचान अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डेटाको वरिपरि केन्द्रित छ । काठमाडौँस्थित एआई कम्पनी ‘फ्युज मसिन्स’ मा कार्यरत उनी विभिन्न अन्तर्राष्ट्रिय ग्राहकका परियोजनामा प्राविधिक नेतृत्व सम्हाल्छिन् ।
कम्प्युटर इन्जिनियरिङको पृष्ठभूमि भएकी कंसाकार पछिल्लो समयको जल्दोबल्दो क्षेत्र एआई र मसिन लर्निङमा कसरी आइपुगिन् ? र, उनी कसरी एक अन्तर्राष्ट्रिय बजारमा विस्तार भइरहेको एआई कम्पनीको महत्त्वपूर्ण भूमिकामा पुगिन् ? उनको यात्रा प्रेरणादायी छ ।
स्नातक तहको अन्तिम सेमेस्टरमा रहँदा नै उनले व्यावसायिक अनुभव बटुल्ने सङ्कल्प गरिन् । “पढाइसँग सँगै सीप र अनुभव पनि आवश्यक पर्छ भन्ने लाग्यो मलाई,” उनी भन्छिन्, “त्यहीमाथि साथीहरू पनि विभिन्न कम्पनीमा आवद्ध भइरहेका थिए । मैले कुनै कम्पनीमा इन्टर्नकै रूपमा जोडिने योजना बनाएँ ।”
उनले योजना बनाइन्, तर त्यसमा सफल हुन उत्तिकै चुनौती थियो । विभिन्न कम्पनीमा इन्टर्नका लागि प्रयास गर्दा जनवरी २०२४ मा उनले ‘एलआईएस नेपाल’ नामक कम्पनीमा सफ्टवेयर इन्टर्नका रूपमा काम गर्ने मौका पाइन् । तीन महिने इन्टर्नशिप सकिएपछि उनी अध्ययनमै केन्द्रित रहिन् । र, कलेजकै रोबोक्सि क्लबमा सफ्टवेयर डिजाइनरको भूमिकामा काम गरिन् ।

सफ्टवेयर इन्जिनियरिङतर्फको पढाइलाई निरन्तरता दिइरहँदा प्रलिशाले अन्य सीप पनि अन्वेषण गरिरहेकी थिइन् । त्यही समयमा ‘फ्युज मसिन्स’ले एआई फेलिशिप खुलाएको थाहा पाइन् । र, आवेदन दिइन् ।
‘एआई फेलोशिप’ फ्युज मसिन्सले हरेक वर्ष आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गर्ने छ महिने कोर्स हो । उनी सो कार्यक्रममा छनोट भइन् र अप्रिल २०२४ देखि सिक्न थालिन् । त्यहाँ उनले जेनेरेटिभ एआई, मसिन लर्निङ, कम्प्युटर भिजन, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ, न्युरल नेटवर्क एन्ड डिप लर्निङ लागयतका बारेमा बुझ्न र यी प्रोग्रामका आधारभूत सिद्धान्तबारे अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने मौका पाइन् ।
एआई फेलोशिपकै अध्ययनका क्रममा उनले ‘पठाओ नेपाल’ना डेटा साइन्स अप्रेन्टिसको भूमिकामा काम गर्न अवसर पाइन् । यी अनुभवले उनलाई डेटाको महत्त्व बुझाए । उनी भन्छिन्, “कसरी कुनै पनि कम्पनीको ठुलो डेटालाई व्यवस्थापन गरेर त्यहाँबाट निश्चित इनसाइट्स निकाल्न सकिन्छ, त्यो बेला रियलाइज गरेँ । पठाओमा काम गर्दा डेटाको प्रयोग गरेर कसरी कम्पनीले आफ्नो पर्फर्मेन्स बढाउँछ, त्यो सिक्न पाएँ ।”
तर, यो यात्रा सहज भने थिएन । स्नातक तहको बोर्ड परीक्षापछिको केही समय अन्योल र मानसिक दबाबका बीच गुज्रिनुपरेको उनी सुनाउँछिन् ।
“कोही साथीहरूको छिटो जब लाग्छ, कोही बाहिर जाने हुन्छ । मेरो चाहिँ समय यत्तिकै बितिरहेको छ । मेरो सीभीमा ग्याप देखिन्छ भनेर डिमोटिभेट हुन्थेँ ।” तर, उनले हार मानिनन् । त्यो समयमा उनले ‘डेटा क्याम्प’ जस्ता प्लेटफर्ममार्फत आफ्नो सीप र प्रोफाइललाई अपडेट राखिरहिन् ।
उनको प्राविधिक जग बलियो बनाउन ‘फ्युज मसिन्स’को एआई फेलोशिपले ठुलो भूमिका खेलेको उनको बुझाइ छ । अप्रिल २०२४ देखि अक्टोबर २०२४ सम्म अर्थात् छ महिना उनले यो फेलोशिप गरिन् । यसपछि नोभेम्बर २०२४ देखि अगस्ट २०२५ सम्म उनी पुनः एलआईएस नेपालमा असोसिएट सफ्टवेयर इन्जिनियरको रूपमा आबद्ध भइन् । १० महिनाको अवधिमा कम्पनी स्विच गर्नु र भूमिका परिवर्तन गर्नु चुनौतीपूर्ण भए पनि उनले आफ्नो रुचिलाई प्राथमिकता दिइन् ।
उनी भन्छिन्, “सैद्धान्तिक ज्ञान त छँदै थियो, तर जबसम्म व्यावहारिक अभ्यास गरिँदैन, तबसम्म ती कुराहरू वास्तविक कार्यसँग जोडिन नसक्ने रहेछन् । अहिलेको जिम्मेवारीमा पनि म त्यही सिकिरहेकी छु ।” सफ्टवेयर डेभलपमेन्टभन्दा उनलाई एआई र डेटामा बढी रुचि थियो । विशेषगरी एआई फेलोशिपले उनको अभिरुचिलाई सोही क्षेत्रतर्फ केन्द्रित गर्न भूमिका खेल्यो । फ्युज मसिन्सबाटै मसिन लर्निङ इन्जिनियरको अवसर प्राप्त भएपछि उनले सफ्टवेयर इन्जिनियरिङको क्षेत्रलाई बिट मार्दै एआई तथा मसिन लर्निङ को संसारमा पाइला चालिन् । सन् २०२५ को अगस्टदेखि फ्युज मसिन्समा आबद्ध उनी अहिले पनि सोही कम्पनीमा कार्यरत छिन् ।
प्रविधि क्षेत्रमा महिलाको सहभागिता र चुनौतीबारे प्रलिशाको धारणा प्रष्ट छ । कतिपयले यो क्षेत्रलाई पुरुषप्रधान माने पनि प्रलिशाको अनुभव भिन्न छ । उनी भन्छिन्, “महिला भएकै कारणले अवसर नपाएको मेरो अनुभव छैन । यो त भ्रम जस्तै लाग्छ । धेरै ठाउँमा त बरु ‘वुमन इन स्टेम’ जस्ता अवसर पाइरहेको छु ।”
यद्यपि, सुरुका दिनमा प्राविधिक छलफलमा आफ्नो कुरा राख्न उनी अलि हिचकिचाउँथिन् । “पहिले मलाई मेरो कुरा गलत होला कि भन्ने डर लाग्थ्यो, तर काम गर्दै जाँदा आत्मविश्वास बढ्दै गयो । यो क्षमताको होइन, सोच्ने तरिकाको कुरा रहेछ,” उनी भन्छिन् ।
एआईले भविष्यमा विभिन्न क्षेत्रका जागिर खाइदिन्छ भन्ने चर्चाबारे उनी सन्तुलित विचार राख्छिन् । उनी भन्छिन्, “एआईले जागिर नै लिन्छ भन्ने चाहिँ हुँदैन होला । काम गर्ने तरिका फेरिएको छ । अब हामीले नयाँ-नयाँ टुल र टेक न्युज फलो गरेर आफूलाई अपडेटेड राख्नुपर्छ ।”
उनको बुझाइमा यो क्षेत्रमा टिक्नका लागि ‘सेल्फ लर्निङ’ अपरिहार्य छ । “आफ्नो रुचि भएको क्षेत्रमा निरन्तर अन्वेषण गर्नुहोस् । आज काम पाइएन भनेर निराश हुनुभन्दा आफ्नो सीप र प्रोफाइल सुधार्न ध्यान दिनुहोस्, अवसर पक्कै आउनेछ,” उनी अरूलाई सल्लाह दिन्छिन् ।
पछिल्लो अध्यावधिक: बैशाख २९, २०८३ २०:३८
