महिलाको व्यक्तिगत फोटो-भिडिओ लिक गरिदिने भन्दै डर-धम्की दिने तथा पैसा असुल्ने व्यक्ति पक्राउ
बैशाख ३१, २०८३ १८:४०
सांकेतिक तस्बिर
काठमाडौँ । टिकटक लगायतका सामाजिक सञ्जालमार्फत महिलाको व्यक्तिगत फोटो तथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिई 'ब्ल्याकमेल' गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ११ घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय समिर तामाङ रहेका छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार तामाङले पीडित महिलाको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा राखिदिने भन्दै डर-धम्की देखाएर आर्थिक लाभ लिने र दुःख हैरानी दिने गरेका थिए । पीडित महिलाले दिएको उजुरीका आधारमा ब्युरोले गरेको प्राविधिक अनुसन्धान र विश्लेषणपछि उनलाई बुधबार काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका तामाङमाथि विद्युतीय कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
काठमाडौँ जिल्ला अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १८:४०
