आईटी क्षेत्र प्रधानमन्त्री कार्यालयमा सारिएपछि फेरि ‘सूचना तथा सञ्चार मन्त्रालय’ बन्यो, डोमेन नेम भने पुरानै
जेठ ४, २०८३ २०:२२
काठमाडौँ । सरकारले मन्त्रालयहरूको कार्यविभाजनका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचना प्रविधि (आईटी) सम्बन्धी कार्य प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सारेसँगै मन्त्रालयको नाम ‘सूचना तथा सञ्चार मन्त्रालय’ राखिएको छ ।
मन्त्रालयको आधिकारिक वेबसाइटमा हाल ‘सूचना तथा सञ्चार मन्त्रालय’ नाम राखिएको छ भने भौतिक रूपमा मन्त्रालय भवनको बोर्डमा पनि पुरानो नाम हटाएर नयाँ नाम लेखिएको छ ।

३० वैशाखमा राजपत्रमा प्रकाशित ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली २०८३’ अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय (एमओसीआईटी) बाट सूचना प्रविधि क्षेत्र हटाइएको छ । अब यस मन्त्रालयले सूचना र सञ्चार क्षेत्रको मात्र जिम्मेवारी पाएको छ भने आईटी सम्बन्धी कार्य प्रधानमन्त्री कार्यालय मातहत गएको छ ।
मन्त्रालयको वेबसाइटको डोमेन भने अझै mocit.gov.np (Ministry of Communication and Information Technology) नै कायम रहेको छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार हाल सूचना तथा सञ्चार मन्त्रालयमा आईटी क्षेत्रसँग सम्बन्धित कार्यहरू समावेश छैनन् । यस मन्त्रालय अन्तर्गत सूचना, मिडिया, प्रेस, सिनेमा, चलचित्र, दूरसञ्चार, भू-उपग्रह, हुलाक लगायतका विषय समावेश छन् ।
राजपत्रमा प्रकाशित सूचना अनुसार ‘सूचना तथा सञ्चार मन्त्रालय’ का कार्य
१. सूचना, सञ्चार र दूरसञ्चार सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;
२. दूरसञ्चार र प्रसारण फ्रिक्वेन्सी बाँडफाँट, शुल्क निर्धारण र नियमन नक्साङ्कन, प्रयोगको अनुमति, नवीकरण र नियमन
३. सूचना र सञ्चार प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान, प्रवर्द्धन र नियमन;
४. भू-उपग्रहको स्थापना, सञ्चालन तथा उपयोगः
५. माइक्रोवेभ प्रणालीको विस्तार, व्यान्डविथको अन्तर्राष्ट्रिय कनेक्टिभिटी र रेडियोयन्त्र प्रयोग;
६. रेडियो, टेलिभिजन, छापा सञ्चार र समाचार संस्थासम्बन्धी नीति, पा सञ्चार र समा कानून र मापदण्डः राष्ट्रियस्तरका रेडियो, टेलिभिजन, प्रसारण संस्था र बहुवितरण
७. प्रसारण प्रणालीको अनुमति, नवीकरण र नियमन;
८. विदेशी टेलिभिजन च्यानलको डाउनलिङ्क
९. अनलाइन मिडियासम्बन्धी नीति, कानून र मापदण्ड;
१०. श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी नीति, कानून र मापदण्ड;
११. सार्वजनिक प्रसारण, छापा र प्रसारण संस्थासम्बन्धी नीति, कानून र मापदण्ड;
१२. स्वदेशी तथा नेपालबाट प्रसारण गरिने विदेशी छापा प्रकाशनसम्बन्धी नीति, कानून र मापदण्ड;
१३. राष्ट्रिय विज्ञापन नीति र मापदण्ड;
१४. हुलाकसम्बन्धी नीति, कानून, मापदण्ड, सञ्चालन र नियमन;
१५. हुलाक टिकट प्रकाशन, भण्डारण तथा अभिलेख व्यवस्थापनः
१६. धनादेश सेवा, हुलाक बैङ्क र अन्तर्राष्ट्रिय डाँक लेखा व्यवस्थापन;
१७. चलचित्र र सिनेमा हलसम्बन्धी नीति, कानून र मापदण्ड;
१८. सुरक्षण मुद्रण;
१९. नेपाल राजपत्रको मुद्रण, वितरण तथा अभिलेख;
२०. पत्रपत्रिकासम्बन्धी आचारसंहिता;
२१. राष्ट्रिय सूचना आयोग;
२२. प्रेस काउन्सिल, केन्द्रीय प्रेस रजिस्ट्रार, नेपाल दूरसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्ड;
२३. जनगुनासो व्यवस्थापन; इन्ड्रस्ट्री)
२४. सृजनशील उद्यम (क्रियटिभ इन्ड्रस्ट्री) सम्बन्धी कार्यहरू;
२५. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय;
२६. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;
२७. नेपाल इन्जिनियरिङ्ग सेवाको इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ्ग समूह सञ्चालन ।
यस्तै सूचना प्रविधि तथा विद्युतीय शासन सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन तथा नियमन, सूचना प्रविधिसँग सम्बन्धि संस्थाहरू, सूचना प्रविधिको प्रवर्द्धन, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, डेटा सुरक्षा, डेटा गभर्नेन्स, सूचना प्रविधि तथा विद्युतीय (डिजिटल) शासन लगायतका कार्य भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत सारिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बन्नअघि ०४९ सालदेखि यसको नाम सूचना तथा सञ्चार मन्त्रालय नै थियो । सूचना प्रविधि विभाग भने त्यतिबेलाको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय मातहत थियो । ०७४ सालमा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा सूचना प्रविधि विभाग सञ्चार मन्त्रालय मातहत हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नाममा पुनर्संरचना गरिएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८३ २०:२७
