close

इजलासको बहस प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीशको योजना

टेकपाना टेकपाना

जेठ ५, २०८३ १७:५६

इजलासको बहस प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीशको योजना

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक प्रक्रियालाई पारदर्शी बनाउन इजलासमा हुने बहस र मुद्दाको सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) गर्ने योजना प्रस्तुत गरेका छन् । मङ्गलबार संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै डा. शर्माले न्याय सम्पादनमा हुनसक्ने ढिलासुस्ती र अनियमितता रोक्न यस्तो कदम चाल्ने बताएका हुन् । 

उनले मुद्दा दर्तादेखि फैसला लेखन र कार्यान्वयनसम्मका सबै प्रक्रियालाई एक वर्षभित्र सूचना प्रविधि प्रणालीमा आबद्ध गर्नेगरी सफ्टवेयर विकास गर्ने कार्ययोजना अघि सारेका छन् ।  यस्तै म्याद तामेली, तारेख, फैसलाको सूचना र पुनरावेदनको म्याद जस्ता अदालती सूचनाहरू प्रविधिमार्फत प्रवाह गर्ने प्रणाली विकास गरी सेवाग्राहीको भौतिक उपस्थितिलाई कम गर्दै लैजाने योजना प्रस्तुत गरेका छन् ।

यसअन्तर्गत मुद्दा दर्तादेखि फैसलाको चरणसम्म विद्युतीय मिसिललाई विद्युतीय माध्यमबाट ट्रयाक गर्न सकिने प्रणालीको विकास गर्ने, अदालत सम्बन्धी कुनै गुनासो वा उजुरी सूचना प्रविधिको माध्यमबाटै दिने प्रणालीको विकास गर्ने योजना रहेको उनले सुनाए ।

“न्यायिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगको समुन्नत स्तर कायम भई प्रविधिमैत्री अदालत ई-कोर्टको अवधारणा साकार हुनेछ । हाल कायम रहेको मुद्दाको बक्यौता सार्वभौमिक रुपमा न्यूनीकरण हुने र फरक मुद्दा व्यवस्थापन पद्धति (डीसीएम)ले निर्दिष्ट गरेको अवधि अर्थात् १८ महिनाभित्रै मुद्दाहरूको फर्छ्यौट हुनेछ,” उनले भने ।

सुनुवाइका क्रममा सांसद डा. लेखजंग थापाले डिजिटल साक्षरता नभएका ग्रामीण र विपन्न नागरिकलाई यो प्रविधिले कसरी समेट्छ र नेपालको कमजोर साइबर कानुनका बीच डिजिटल न्यायपालिका कसरी सुरक्षित रहन्छ भन्दै प्रश्न गरेका थिए । अर्का सांसद दीपक बोहराले इजलासको प्रत्यक्ष प्रसारण योजनाको कार्यान्वयनबारे जिज्ञासा राखे ।

सांसदहरूको प्रश्नको जवाफ दिँदै डा. शर्माले न्यायपालिकालाई प्रविधिमैत्री बनाउँदा साक्षी बकपत्र र म्याद तामेलीमा हुने चलखेल एवं ढिलासुस्ती रोकिने र धेरै विकृतिहरू स्वतः अन्त्य हुने दाबी गरे । उनले आफ्नो कार्ययोजनाको प्रगति विवरण प्रत्येक चार महिनामा सर्वोच्च अदालतको वेबसाइटमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यसैबिच, संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीश पदका लागि अनुमोदन गरेको छ । समितिबाट अनुमोदन भएसँगै आजै साँझ ६:१० बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८३ १८:१०