close

भारतीय एआई इन्डस बन्डलिङसहित एचएमडीको नयाँ स्मार्टफोन सार्वजनिक, लिन सक्ला त बजार ?

टेकपाना टेकपाना

जेठ १०, २०८३ ८:९

भारतीय एआई इन्डस बन्डलिङसहित एचएमडीको नयाँ स्मार्टफोन सार्वजनिक, लिन सक्ला त बजार ?

 

काठमाडौँ । फिनल्याण्डको चर्चित फोन निर्माता कम्पनी एचएमडीले आफ्नो नयाँ​ स्मार्टफोन भाइब २ फाइभजी सार्वजनिक गरेको छ । भारतीय एआई कम्पनी सर्भमको इन्डस नामक च्याटबट प्रिलोडिङसहित कम्पनीले यो नयाँ फोन बजारमा ल्याएको हो ।

यी दुई कम्पनीहरूले गत फेब्रुअरीमा नयाँ दिल्लीमा आयोजित इन्डिया एआई समिटका क्रममा आफ्नो साझेदारीको घोषणा गरेका थिए । इन्डसको सर्भम एप स्थानीय रूपमा प्रशिक्षित १०५-अर्ब-प्यारामिटर भएको मोडेलबाट सञ्चालित छ ।

यो एपले २२ वटा भारतीय भाषाहरू सपोर्ट गर्दछ । यसको एउटा विशेष क्षमता भनेको कोड-स्विचिङ (code-switching) हो, जसको मद्दतले प्रयोगकर्ताले कुराकानीको बीचमै भाषाहरू मिसाउन सक्छन् । जस्तै: हिन्दी र अङ्ग्रेजी मिसाएर बोल्ने ।

यसले गर्दा एआई असिस्टेन्टले प्रयोगकर्ताको प्रश्नको सन्दर्भ राम्रोसँग बुझ्न सक्छ । यद्यपि हाल यो एप अफलाइन चलाउन मिल्दैन र यसलाई तुरुन्तै सुरु गर्न फोनमा कुनै छुट्टै शर्टकट फिचर राखिएको छैन ।

एचएमडीका भारत र एपेक क्षेत्रका सीईओ तथा उपाध्यक्ष रवि कुँवरका अनुसार यो साझेदारीको पहिलो चरण उपभोक्ताहरू माझ इन्डस एपको पहुँच पुर्‍याउनु हो । दोस्रो चरणमा प्रयोगकर्ताहरूलाई यसमा अभ्यस्त गराउने र आकर्षण बढाउने योजना रहेको उनले बताए ।

भाइब २ फाइभजी एक मिडरेन्ज एन्ड्रोइड फोन हो । जसमा ६,००० एमएएचको ब्याट्री रहेको छ । यसको मूल्य १०,९९९ भारु (१७,५९८) तोकिएको छ । कुँवरले भाइब सिरिजका अन्य स्मार्टफोनहरूमा पनि यो च्याटबट उपलब्ध हुने र आगामी महिनाहरूमा सर्भम एआई एकीकृत गरिएको फिचर फोन (सानो फोन) पनि लन्च गर्ने तयारी भइरहेको जानकारी दिए ।

फिचर फोनमा एआई सेवा प्रदान गर्ने रणनीति दुवै कम्पनीका लागि महत्त्वपूर्ण साबित हुन सक्छ । सन् २०२५ को तथ्याङ्क अनुसार भारतको फिचर फोन बजारमा एचएमडीको हिस्सा ४ प्रतिशत छ । तर स्मार्टफोन बजारमा यसको उपस्थिति निकै कमजोर छ ।

डाउनलोडको तथ्यांक हेर्दा इन्डस अझै प्रारम्भिक चरणमा देखिन्छ । सार्वजनिक भएको करिब तीन महिनामा यो एप भारतभर दुई लाख ९३ हजार पटक डाउनलोड भएको छ । जबकि सोही अवधिमा च्याटजीपीटी ४ करोड ३९ लाख पटक डाउनलोड भएको छ ।

भारतीय भाषाहरूको विविधता भएको बजारमा अङ्ग्रेजी भाषाका एआई उपकरणहरूको पहुँच सीमित हुने भएकाले किफायती हार्डवेयर र स्थानीय एआईको सम्मिश्रण एक बलियो रणनीति मानिएको छ । सर्भम भारतको एक प्रमुख एआई स्टार्टअप हो, जसले विशेषगरी आवाजमा आधारित (voice-based) सोलुसनहरूमा काम गरिरहेको छ । यो कम्पनी १.५ अर्ब डलरको मूल्याङ्कनमा ३०० मिलियन डलरको नयाँ लगानी जुटाउने प्रक्रियामा छ ।

पछिल्लो अध्यावधिक: जेठ १०, २०८३ ८:२०