महावीर पुनको माग बजेटमा सम्बोधन: विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा पुँजीगत खर्चको १ प्रतिशत विनियोजन
जेठ १५, २०८३ १७:२२
काठमाडौँ । पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सांसद महावीर पुनले माग गरे अनुसार नेपाल सरकारले पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले यस क्षेत्रका लागि पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले भने, “विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम एक प्रतिशत रकम विनियोजन गरेको छु ।”
यसअघि प्रतिनिधि सभा बैठकमा पुनले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई सरकारले बेवास्ता गर्दै आएको भनेर गुनासो पोख्दै आएका थिए । विकसित देशहरूले आफ्नो देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तीनदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा छुट्याउने गरेको बताउँदै उनले नेपालको समग्र विकासका लागि यस क्षेत्रमा विशेष बजेट छुट्याउन पर्ने माग राखेका थिए ।
सरकारले यो क्षेत्रको विकासका लागि जीडिपीको कम्तीमा एक प्रतिशत रकम छुट्याउनु पर्ने भएपनि हाललाई त्यो सम्भव नभएमा पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत छुट्याएर यस क्षेत्रको विकास सुरु गर्नुपर्ने माग राखेका थिए । पुनको सोही अडान अनुसार हाल सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा सरकारले बजेट छुट्याएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८३ १७:२९
