close

जैविक सुरक्षा र महामारी पूर्वतयारीका लागि ओपनएआईको नयाँ कार्यक्रम सार्वजनिक

टेकपाना टेकपाना

जेठ १७, २०८३ १३:१६

जैविक सुरक्षा र महामारी पूर्वतयारीका लागि ओपनएआईको नयाँ कार्यक्रम सार्वजनिक

काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले जैविक जोखिम, महामारी तयारी र सार्वजनिक स्वास्थ्य सुरक्षा मजबुत बनाउन नयाँ ‘रोसलिन्ड बायोडिफेन्स’ (Rosalind Biodefense) कार्यक्रम सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत कम्पनीले जीव विज्ञान केन्द्रित विशेष एआई मोडेल ‘जीपीटी-रोसलिन्ड’ (GPT-Rosalind) प्रयोग गरेर जैविक सुरक्षा सम्बन्धी अनुसन्धान र तयारीलाई तीव्र बनाउने लक्ष्य राखेको छ । ओपनएआईले याे एआई माेडेल गत महिना सार्वजिनक गरेकाे थियाे ।

ओपनएआईका अनुसार विश्वसनीय डेभलपरहरुलाई जैविक रक्षा (बायोडिफेन्स) र महामारी पूर्वतयारीका नयाँ क्षमताहरू विकास गर्न मद्दत पुर्‍याउने उद्देश्यले ‘रोसलिन्ड बायोडिफेन्स’ कार्यक्रममा पहुँच दिइनेछ । साथै, अमेरिकी सरकार र यस सम्बद्ध केही साझेदारहरूका लागि जनस्वास्थ्य र बायोडिफेन्स मिसनहरूलाई सहयोग गर्न जीपीटी-रोसलिन्डको विश्वसनीय पहुँच विस्तार गरिने पनि कम्पनीले जनाएको छ । 

यस एआई मोडेलले महामारीको पूर्वानुमान, रोग फैलावटको निगरानी र जैविक खतराको पहिचानमा सहयोग गर्ने अपेक्षा गरिएको छ । ओपनएआईका अनुसार यो कार्यक्रमले जीवन विज्ञान अनुसन्धानकर्ताहरूलाई नयाँ औषधि विकास गर्न र रोग पहिचान प्रक्रियामा छिटो नतिजा निकाल्न मद्दत गर्नेछ ।

एआईलाई केवल प्रयोगात्मक अनुसन्धानमा सीमित नराखी वास्तविक जैविक सुरक्षा प्रणालीसँग जोड्ने प्रयास गर्नु यो कार्यक्रमको महत्वपूर्ण पक्ष भएको ओपनएआईले जनाएको छ । कम्पनीले यस विषयमा ह्वाइट हाउस तथा सम्बन्धित सरकारी निकायहरूलाई समेत जानकारी गराइसकेको छ । तर एआईको यस्तो शक्तिशाली प्रयोगसँगै जैविक हतियार विकासको सम्भावित दुरुपयोग बढ्न सक्ने पनि केही विश्लेषकहरुले बताएका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १३:२४