close

च्याम्पियन्स लिग र युरो कपमा अलिबाबाकाे एआई र क्लाउड सेवा, ३६०-डिग्री रिप्ले प्रविधि पनि भित्रिँदै

टेकपाना टेकपाना

जेठ १७, २०८३ १७:२१

च्याम्पियन्स लिग र युरो कपमा अलिबाबाकाे एआई र क्लाउड सेवा, ३६०-डिग्री रिप्ले प्रविधि पनि भित्रिँदै

काठमाडाैँ । युरोपेली फुटबल महासङ्घ (युईएफए) ले युरोपका प्रमुख प्रतियोगिताहरूमा चिनियाँ कम्पनी अलिबाबा ग्रुपको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), क्लाउड र ३६०-डिग्री रिप्ले टेक्नोलोजी भित्र्याउने भएको छ । यसका लागि अलिबाबा ग्रुप र युईएफएले ६ वर्षे विशेष सम्झौतामा हस्ताक्षर गरेको सिन्ह्वालगायत चिनियाँ सञ्चारमाध्यमहरुको रिपोर्टमा उल्लेख छ ।

सम्झौताअनुसार युईएफएले अलिबाबाको एआई मोडेल क्वेन (Qwen) सँग सहकार्य गर्नेछ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति र एनबीए चाइनालगायतले पनि अलिबाबाको सोही एआई प्रयोग गरिरहेका छन् । युरोपेली फुटबलले आफ्नो डिजिटल रूपान्तरण र फ्यान इङ्गेजमेन्टलाई तीव्र बनाइरहेका बेला उक्त सम्झौता भएको हो ।

अलिबाबा सन् २०२७-२८ सिजनदेखि २०३२-३३ सिजनसम्म च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिगका साथै सन् २०२८ को युरो कपका लागि आधिकारिक एआई, क्लाउड सेवा र ई–कमर्स पार्टनर बन्नेछ । युईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले अलिबाबाको एआईसम्बन्धी विशेषज्ञताले विश्वभरका फ्यानहरूको अनुभव सुधार गर्न मद्दत गर्ने र खेल हेर्ने नयाँ तरिकाहरू विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

यस साझेदारी अवधिभर अलिबाबाले आफ्नो एआई प्रविधिहरू, विशेषगरी ‘क्वेन’ लार्ज ल्याङ्वेज मोडेललाई फ्यान अन्तरक्रिया, मिडिया सामग्री व्यवस्थापन र इभेन्ट कम्युनिकेसनलाई सहयोग गर्न प्रयोग गर्नेछ । आफ्नो विश्वव्यापी क्लाउड पूर्वाधार र ई-कमर्स प्लेटफर्महरूको सहयोगमा कम्पनीले युईएफएका फुटबल प्रतियोगिताहरूका लागि अझ प्रभावकारी दृश्य तथा सामग्रीको अनुभव गराउनेछ बताइएको छ । यसले फ्यानहरूलाई खेलका रिप्लेहरू ३६०-डिग्रीमा विभिन्न कोणबाट हेर्न सक्ने सुविधा पनि प्रदान गर्नेछ ।

अलिबाबा ग्रुपका अध्यक्ष जो साईले खेलकुद र प्रविधिको संगमप्रति युईएफएको गहिरो चासो नै यस साझेदारीको प्रमुख प्रेरक कारणहरूमध्ये एक भएको बताएका छन् । यो साझेदारीले विश्वव्यापी खेलकुद इभेन्टहरूको डिजिटल रूपान्तरणमा अलिबाबाको बढ्दो संलग्नतालाई थप प्रष्ट पारेको छ । अलिबाबा सन् २०१७ मा विश्वव्यापी ओलम्पिक पार्टनर बनेको थियो । त्यसयता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको डिजिटल रूपान्तरण प्रयासहरूलाई सहयोग गर्दै आएको छ । 

सन् २०२१ को टोकियो ओलम्पिकमा क्लाउड-आधारित प्रसारण व्यापक रूपमा प्रयोग गरिएको थियो भने सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकमा ओलम्पिकका मुख्य प्रणालीहरू पहिलो पटक पूर्ण रूपमा क्लाउडमा स्थानान्तरण गरिएको थियो ।

सन् २०२४ को पेरिस ओलम्पिकको समयमा क्लाउड प्रसारण पहिलो पटक स्याटलाइट प्रसारणलाई उछिनेर मुख्य प्रसारण विधि बनेको थियो । त्यस्तै, सन् २०२६ मिलान-कोर्टिना शीतकालीन ओलम्पिकमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले अलिबाबाको क्वेन प्रविधिमा आधारित पहिलो आधिकारिक ‘ओलम्पिक लार्ज ल्याङ्ग्वेज मोडेल’ प्रस्तुत गरेको थियो ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८३ १७:३१