काठमाडौं । माइक्रोसफ्टले ‘माइक्रोसफ्ट स्काउट’ नामक नयाँ एआई एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले स्काउटलाई ‘सधैँ सक्रिय रहने व्यक्तिगत एजेन्ट’ को रूपमा वर्णन गरेको छ । यो नयाँ प्रणालीले प्रयोगकर्ताको इमेल, क्यालेन्डर, च्याट र अन्य कार्यसम्बन्धी जानकारी बुझेर स्वतः काम गर्न सक्ने माइक्रोसफ्टको दाबी छ ।
प्रयोगकर्ताहरूले दैनिक रूपमा प्रयोग गर्ने माइक्रोसफ्ट ३६५ एपहरूमा स्काउट एकीकृत गरिएको छ । यो प्रणाली क्लाउड, डेस्कटप र वेब गरी तीनवटै माध्यममा सञ्चालन हुन्छ । स्काउटले टिम्स, आउटलुक, वानड्राइभ र शेयरपोइन्टलाई एकापसमा जोड्ने कार्य गर्दछ । साथै, च्याट, इमेल, क्यालेन्डर, कन्ट्याक्ट्स लगायत दैनिक कामकाज सञ्चालन गर्ने मुख्य डेटाहरूलाई समेत यसले एकीकृत गर्ने माइक्रोसफ्टले जनाएको छ ।
प्रयोगकर्ताले यस प्रणालीसँग टिम्समार्फत संवाद गर्न सक्नेछन् । डेस्कटप एपको माध्यमबाट यसको पहुँचलाई ब्राउजर, स्थानीय स्रोतहरू र मोडेल कन्टेक्स्ट प्रोटोकल सर्भरहरूसम्म विस्तार गर्न सकिने सुविधा मिलाइएको छ । माइक्रोसफ्टका अनुसार स्काउट सामान्य च्याटबटभन्दा फरक छ । माइक्रोसफ्टको एआई च्याटबट ‘कोपाइलट’ जस्तै प्रश्नको उत्तर दिन मात्र सीमित नरही यसले प्रयोगकर्ताको काम गर्ने शैली, प्राथमिकता र दिनचर्या बुझेर सक्रिय रूपमा सहयोग गर्नेछ ।
स्काउटले बैठकको तयारीलाई स्वचालित बनाउने, फाइलहरू व्यवस्थापन गर्ने, कार्यतालिकाको संयोजन गर्ने लगायत कार्यहरू सहजै सम्पन्न गर्न सक्ने क्षमता राख्छ । ‘माइक्रोसफ्ट विल्ड २०२६’ सम्मेलनमा स्काउटलााई माइक्रोसफ्टले ‘अटोपाइलट’ नामक नयाँ श्रेणीका एआई एजेन्टको पहिलो उदाहरणका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यस्ता एजेन्टहरू स्वतन्त्र रूपमा काम गर्न, निर्णयमा सहयोग गर्न र प्रयोगकर्ताको तर्फबाट कार्य सम्पन्न गर्न सक्षम हुनेछन् ।
हाल स्काउट अमेरिकाका केही ‘फ्रन्टियर’ ग्राहकका लागि ‘डेस्कटप प्रिभ्यु’ संस्करणमा उपलब्ध गराइएको छ । माइक्रोसफ्टले भविष्यमा यसलाई क्लाउडमार्फत निरन्तर सक्रिय रहने सेवाका रूपमा व्यापक रूपमा उपलब्ध गराउने योजना बनाएको छ । कम्पनीभित्र भने ३ हजारभन्दा बढी कर्मचारीले यसको प्रयोग गरिरहेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८३ ६:४९
