काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ‘दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२’ को मुख्य प्रायोजन गर्ने भएको छ । भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी १३ देखि १६ भदौसम्म बूढानीलकण्ठको रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा बैंक, बीमा तथा वित्तीय संस्था, उत्पादनमूलक कम्पनी र सूचना प्रविधि क्षेत्रका गरी २० कर्पोरेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकलगायतका प्रतिष्ठित संस्थाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
घरायसी इन्टरनेट सेवामा परिचित भायानेटले पछिल्लो समय कर्पोरेट क्षेत्रमा आफ्नो सेवा विस्तार गरिरहेको छ । यही क्रममा कर्पोरेट जगतसँगको व्यावसायिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले लिगको मुख्य प्रायोजन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले भायानेट कर्पोरेट क्षेत्रमा एक विश्वासिलो साझेदार बनेको बताए । उनले भने, “हामी इन्टरनेट कनेक्टिभिटीमा मात्र सीमित नभई ‘बियोन्ड कनेक्टिभिटी’ को दृष्टिकोणसहित आईटी सोलुसन पनि प्रदान गरिरहेका छौँ । यो क्रिकेट लिगमार्फत हाम्रा प्रमुख साझेदारहरूसँग अझ नजिक हुने अपेक्षा राखेका छौँ ।” खेलकुदले आपसी सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
भायानेटले हाल होटल, बैंक तथा वित्तीय संस्था, उद्योग र शैक्षिक संस्थाहरूलाई इन्टरनेट तथा अन्य आईटी सेवाहरू प्रदान गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३, २०८२ १४:३९
