व्यक्तिगत वित्त व्यवस्थापनका लागि एआईको सल्लाह लिँदै हुनुहुन्छ ? यी हुन् गर्न हुने र नहुने कुराहरू
असार १, २०८३ १३:१६
काठमाडौं । पछिल्ला केही वर्षहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास तीव्र गतिमा भएको छ । इमेल लेख्ने, अनलाइन किनमेल गर्ने, खानाको परिकारका लागि रेसिपी तयार पार्ने लगायत साधारण दैनिक कामहरूका लागि पनि एआई उपयोगी सहायक बन्दै गएको छ । एआई च्याटबटहरूको गति, पहुँच र प्रयोग गर्न सजिलो हुने विशेषताका कारण तिनीहरू व्यक्तिगत वित्त (Personal Finance) व्यवस्थापनका लागि पनि लोकप्रिय साधन बन्दै गएका छन् ।
तर आफ्नो वित्तीय व्यवस्थापनमा सहयोग लिन एआई च्याटबटहरूलाई कति हदसम्म प्रयोग गर्ने र कति हदसम्म भरोसा गर्ने भन्ने कुरा विचार गर्नु महत्त्वपूर्ण हुन्छ । व्यक्तिगत वित्त व्यवस्थापनको क्षेत्रमा काम गर्ने कम्पनी ‘मनीबक्स’ का व्यक्तिगत वित्त निर्देशक ब्रायन बायर्न्सले एआई उपकरणहरूको प्रयोगका सन्दर्भमा “के गर्ने र के नगर्ने” भन्ने कुराहरूको सुझाव दिएका छन् । सोही सुझावहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
सुरुवाती विन्दु (Starting point) को रूपमा प्रयोग गर्ने
पैसा (वित्त) बारे सिक्नका लागि एआई एक उत्कृष्ट माध्यम हो र यसले तपाईँलाई राम्रो सुरुवाती आधार दिन सक्छ । धेरै मानिसहरूले आफ्नो व्यक्तिगत वित्तीय ज्ञानको कमीबारे लाज महसुस गरिरहेका हुन्छन् । तसर्थ, एआईले केही हदसम्म यस्तो बाधा हटाउन मद्दत गर्न सक्छ ।
यदि तपाईँलाई कहाँबाट सुरु गर्ने भन्ने कुराको पत्तो छैन भने यी साधनहरूले बिनाकुनै डर वा सङ्कोच सिक्ने उत्कृष्ट वातावरण प्रदान गर्छन् । कसैले तपाईँको मूल्याङ्कन गरिरहेको छ वा तपाईँलाई नराम्रो सोचिरहेको छ भन्ने महसुस नगरी नै तपाईँ यसलाई थुप्रै प्रश्नहरू सोध्न सक्नुहुन्छ । यी कुराहरूले व्यक्तिगत वित्तको मामलामा मानिसहरूको व्यवहारमा ठुलो प्रभाव पार्छ ।
यी साधनहरूको सहजता र पहुँचयोग्यता पनि एउटा ठुलो सबल पक्ष हो । एआईले मानिसहरूलाई आवश्यकता परेको बेला तुरुन्तै निकै राम्रो गुणस्तरको सूचनामा पहुँच दिन सक्छ, जुन आफैँमा एक ठुलो सकारात्मक पक्ष हो ।
प्राविधिक वा जटिल शब्दहरू (जार्गन) बुझ्न प्रयोग गर्ने
प्राविधिक वा जटिल वित्तीय शब्दावलीहरूलाई सरल भाषामा अनुवाद गर्न र बुझाउन एआई निकै उपयोगी हुन सक्छ । वित्तीय सेवा क्षेत्रमा अत्यधिक मात्रामा जटिल प्राविधिक शब्दहरू प्रयोग हुन्छ । तीमध्ये केहीलाई सरल भाषामा बुझाउन एआई एक उत्कृष्ट साधन हो ।
दूरगामी वा महत्त्वपूर्ण वित्तीय निर्णयहरू एआईले दिएको सिफारिसका आधारमा नगर्ने
एआई वित्तीय शिक्षाका लागि एक शक्तिशाली सहयोगी साधन हुन सक्छ । तर व्यावहारिक वित्तीय सल्लाहका लागि यी साधनहरूमा कहिल्यै पनि भर पर्नु हुँदैन । बचत, लगानी वा पेन्सनलगायतलाई के गर्ने भन्ने जस्ता व्यक्तिगत सिफारिस जस्तो देखिने कुनै पनि कुराप्रति सचेत रहनुपर्छ । एआई टुल्सहरू निकै तर्कसङ्गत र विश्वासिला लाग्न सक्छन् तर त्यस जानकारीका आधारमा कुनै ठुलो वित्तीय निर्णय लिनुअघि तपाईँले सधैं आफैँले थप अनुसन्धान वा जाँचबुझ गर्नुपर्छ ।
वित्तीय सल्लाहका लागि एआई साधनहरूमा मात्रै भर पर्नुको सबैभन्दा ठुलो समस्या भनेको केही गलत भयो भने त्यसका लागि कुनै कानुनी उपचार वा उपभोक्ता संरक्षण उपलब्ध नहुनु हो । यदि तपाईँले एआईको सल्लाहका आधारमा कुनै निर्णय वा कदम चाल्नुभयो र दुर्भाग्यवश केही कुरा गलत भयो भने क्षतिपूर्तिको माग गर्ने कुनै ठाउँ हुनेछैन । त्यसैले यो सबैभन्दा ठुलो कमजोरी वा जोखिमहरूमध्ये एक हो ।
मान्यता प्राप्त स्रोतहरू मार्फत जानकारी लिने
एआईले उपलब्ध गराउने जानकारीको तथ्य पुनः जाँच गर्नु सधैं राम्रो हुन्छ । अन्य कुनै पनि साधन वा स्रोत जस्तै यसलाई पनि दोहोर्याएर जाँच गर्नुपर्छ । एआई टुलहरूले पुराना भइसकेका जानकारीहरू पनि दिन सक्छन् । त्यसैले यसले दिने जानकारीलाई सधैं पछिल्ला ताजा सूचना र नियमन गरिएका आधिकारिक स्रोतहरूसँग भिडाएर निश्चित गर्नुपर्छ ।
कुनै पनि गोप्य र संवेदनशील जानकारीहरू शेयर नगर्ने
एआई प्लेटफर्महरूसँग कुनै पनि गोप्य र संवेदनशील वित्तीय जानकारीहरू शेयर गर्दा सावधानी अपनाउनुपर्छ । तपाईँले दिएको डेटा कसरी र कहिले प्रयोग वा सार्वजनिक हुन सक्छ भन्ने कुरामा विचार गर्नु महत्त्वपूर्ण हुन्छ । व्यक्तिगत खाताका विवरणहरू, पासवर्ड र खाता नम्बर जस्ता कुराहरू कसैसँग पनि शेयर नगर्नु उचित हो । कोही पनि मानिसले आफ्नो क्रेडिट कार्डको विवरण कुनै अपरिचित व्यक्तिलाई सुम्पिँदैनन्, त्यसैले एआईलाई आफ्नो व्यक्तिगत विवरणको जानकारी दिँदा पनि यही दृष्टिकोण अपनाउनु महत्त्वपूर्ण हुन्छ ।
एआईको सल्लाहलाई आँखा चिम्लेर स्वीकार नगर्ने
एआईले भन्ने हरेक कुरालाई अलिकति शङ्काको घेरामा राखेर हेर्नु उचित हुन्छ । यी साधनहरूमा भ्रमपूर्ण तथ्यहरू देखिने धेरै उदाहरणहरू छन् । यदि कुनै कुरा सुन्दा पत्याउनै नसकिने जस्तो राम्रो लाग्छ भने त्यो जानकारीलाई अन्य स्रोतहरूसँग दोहोर्याएर जाँच्नु महत्त्वपूर्ण हुन्छ । एआईको प्रवृत्ति तपाईँलाई सधैं निकै आत्मविश्वासले भरिएको जस्तो सुनिने जवाफ दिने हुन्छ । तर ती जवाफहरू सधैं सही हुँदैनन् । वित्तीय सल्लाहको मामलामा एआईलाई भट्टी पसलमा भेटिएको अलिअलि ज्ञान भएको र विभिन्न कुराहरूको बारेमा सुनाइरहने साथी जस्तै ठान्नु उचित हुन्छ ।
पछिल्लो अध्यावधिक: असार १, २०८३ १३:२४
