close

बीवाईडी प्रकरणमा स्पष्ट घोटाला भएको एमालेको दाबी, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग

टेकपाना टेकपाना

जेठ २५, २०८३ १४:४६

बीवाईडी प्रकरणमा स्पष्ट घोटाला भएको एमालेको दाबी, अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन राप्रपाको माग

काठमाडौं । चीनबाट आयात गरिएका बीवाईडी ब्राण्डका विद्युतीय सवारी (ईभी) को भन्सार जाँचपासको विषयलाई लिएर प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू सरकारमाथि खनिएका छन् । नेकपा (एमाले) ले यसलाई ठुलो घोटालाको संज्ञा दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा चलाउन माग गरेको छ ।

एमाले सांसद पद्मा अर्यालले बजेट निर्माणका क्रममा आर्थिक विधेयकको १६ पृष्ठ परिवर्तन गरिएको भन्दै आपत्ति जनाइन् । “संसदमा पेस भएको आर्थिक विधेयकको पृष्ठहरू परिवर्तन गरियो । ४६६ बाट ४५० मा झारियो, १६ पृष्ठ गायब भयो,” उनले भनिन् ।

बीवाईडी ईभीको आयातमा सेटिङ मिलाएर राज्यलाई अर्बौँको ठगी गरिएको उनको दाबी छ । “भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर, गाडी नआउँदै रातारात अनि त्यो खालको घोटालाको खेल भएको छ,” उनलले भनिन्, “यो गम्भीर विषय हो । शङ्का मात्रै होइन, स्पष्ट सङ्केत देखिएको छ । त्यहाँ घोटाला भएको छ हामी ठोकेर भन्न सक्छौँ ।”

उनले संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राख्नु आर्थिक अपराध भएको भन्दै यसको जवाफ अर्थमन्त्रीले दिनुपर्ने माग गरिन् ।

यसैगरी, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बजेट सार्वजनिक हुनुअघि करका दर चुहावट गरेको आरोप लगाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरे । शाहीले सूचना चुहावट भएकै कारण जेठ १४ गते नै ७५३ वटा गाडी भन्सार पास भएको र ती गाडीहरू २० गते मात्रै नाकामा आइपुगेको दाबी गरे ।

करका दर चुहावट गर्नेलाई राजद्रोहको मुद्दा चल्नुपर्ने भन्दै शाहीले भने, “आफै छानबिन समिति बनाउने अनि कर्मचारीलाई डाम्ने तिर जान्छ । हामीलाई थाहा छैन ? बजेट बन्दा खेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन । यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ । यो राजद्रोह हो, यसमा सरकारले होइन, संसद्ले छानबिन समिति बनाउनुपर्छ ।”

यता, अर्थमन्त्री डा. वाग्लेको सचिवालयले सूचना चुहावटको आरोपलाई ‘मिडिया ट्रायल’ र चरित्रहत्या गर्ने प्रयास भनेको छ । सचिवालयले बजेटलाई विवादमा पार्न गलत भाष्य स्थापित गर्न खोजिएको दाबी गर्दै अफवाह फैलाउनेमाथि कानुनी उपचार खोज्ने चेतावनी दिएको छ । यसैक्रममा अर्थमन्त्री डा. वाग्लेले एक दैनिक पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी समेत दिएका छन् ।

अर्कोतर्फ, बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आफूले प्रचलित कानुन र भन्सार नियमावलीअनुसार नै पारदर्शी रूपमा गाडी आयात गरेको दाबी गरेको छ । ग्राहकहरूको पूर्व-बुकिङ पूरा गर्न नियमित प्रक्रियाअनुसार गाडी ल्याइएको र कुनै पनि अनधिकृत लाभ नलिएको कम्पनीको जिकिर छ ।

यो प्रकरण सतहमा आएपछि अर्थ मन्त्रालयले तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी विभाग तानेको छ । सशस्त्र प्रहरीले २० जेठको राति मुस्ताङ, कास्की र पर्वतका विभिन्न स्थानबाट सयाैँ बीवाईडी गाडीहरू नियन्त्रणमा लिएको थियो ।

बजेटअघि कर बढ्ने सूचना पाएर आयातकर्ताले हतार-हतार ‘पेपर क्लियर’ मार्फत भन्सार जाँचपास गराएको आशङ्कामा सरकारले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ १५:१३