close

'गोल्ड क्वाइनमा प्रधानमन्त्री र मन्त्रिको नाम जोडेर अनलाइन स्क्याम हुँदैछ, तत्काल रोकियोस्'

टेकपाना टेकपाना

असार २२, २०८३ १७:१९

'गोल्ड क्वाइनमा प्रधानमन्त्री र मन्त्रिको नाम जोडेर अनलाइन स्क्याम हुँदैछ, तत्काल रोकियोस्'

 

काठमाडौं । नेकपा (एमाले) की सांसद गंगादेवी श्रेष्ठले नेपालमा अवैध रूपमा सञ्चालन भइरहेको नेटवर्किङ व्यवसाय ‘गोल्ड कोइन’ माथि तत्काल प्रतिबन्ध लगाउन सरकारसँग माग गरेकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्ता प्लेटफर्मका सञ्चालकले प्रधानमन्त्री र मन्त्रीको नाम जोडेर सर्वसाधारणलाई झुक्यानमा पारिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद श्रेष्ठले उक्त नेटवर्किङ व्यवसायले ‘देशका प्रधानमन्त्री र मन्त्रीहरूले आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति तथा सुन यसै व्यवसायबाट आर्जन गरेको हो’ भनी भ्रम फैलाएर सर्वसाधारणलाई विश्वासमा लिने प्रयास गरिरहेको दाबी गरिन् । उनले भनिन्, “यो व्यापारलाई हाम्रो देशको प्रधानमन्त्री र मन्त्रीहरूको स्रोत नखुलेको सम्पत्ति र सुन यसैबाट कमाएको हो भनेर कन्भिन्स गरेर यो नेटवर्क सञ्चालन भइरहेको छ । यदि यो सत्य हो भने यसलाई वैधानिक बनाएर कोही पनि नठगिने व्यवस्था गरियोस्, होइन भने तत्काल प्रतिबन्ध लगाइयोस् ।”

सांसद श्रेष्ठले उक्त व्यवसायको कार्यशैलीबारे प्रकाश पार्दै यो एक जनाले तीन जना र पुनः ती तीन जनाले अन्य ग्राहक थप्दै जाने पिरामिड शैलीको नेटवर्क भएको उल्लेख गरिन् । यस प्रकारको प्रणालीमा सुरुका केही व्यक्तिले मात्र पैसा पाउने र बाँकी सर्वसाधारण ठगिने उनको भनाइ थियो । विगतमा पनि यस्तै खालका नेटवर्किङ व्यवसायले धेरै नागरिकलाई ठगेका कारण सरकारले प्रतिबन्ध लगाएको स्मरण गर्दै उनले यस विषयमा सरकारको ध्यान जानुपर्नेमा जोड दिइन् ।

यसका साथै सांसद श्रेष्ठले सामाजिक सञ्जालमार्फत भइरहेका अन्य अनलाइन ठगीका विषयमा पनि संसदको ध्यानाकर्षण गराइन् । पछिल्लो समय फेसबुक र टिकटक जस्ता माध्यममा ‘33XX’ का नाममा भ्रामक विज्ञापन आउने गरेको र इसेवामा पैसा आउँछ भनी प्रलोभन देखाएर सर्वसाधारणलाई ठग्ने नेटवर्क सक्रिय रहेको उनले बताइन् ।

यस्ता गतिविधिले धेरै नागरिक ठगिने जोखिम बढेको औंल्याउँदै उनले सामाजिक सञ्जालबाट हुने ठगीलाई तत्काल नियन्त्रण गर्न र यस विषयमा सत्य तथ्य छानबिन गरी संसद्‌लाई जानकारी गराउन माग गरिन् ।

पछिल्लो अध्यावधिक: असार २२, २०८३ १७:१९