ब्याचलर्समा मेकानिकल इन्जिनियरिङ पढाउँदै पोखरा विश्वविद्यालय, अटोमेसन र रोबोटिक्समा जोड
साउन २६, २०८२ १५:२१
काठमाडौँ । पोखरा विश्वविद्यालयले स्नातक तहमा मेकानिकल इन्जिनियरिङ विषयको अध्यापन सुरु गर्ने भएको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि अध्यापन सुरु गराउने उद्देश्यले प्रवेश परीक्षाका लागि आवेदनसमेत माग गरेको छ ।
विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङमा मात्र उपलब्ध हुने यो कोर्स औद्योगिक क्षेत्रको आवश्यकता अनुसारको जनशक्ति तयार पार्ने गरी बनाइएको विज्ञान तथा प्रविधि सङ्कायका डिन सहप्राध्यापक बुद्धिराज जोशीले जानकारी दिए ।
“पछिल्लो समय उद्योगमा भइरहेको परिवर्तन, अटोमेसन र रोबोटिक्समा समेत केन्द्रित भएर पाठ्यक्रम तयार पारेका छौँ,” उनले टेकपानासँग भने । उनका अनुसार अटोमेसनका लागि आवश्यक पर्ने आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निङको अवधारणालाई पनि पाठ्यक्रममा समावेश गरिएको छ ।
कुल ४८ कोटा क्षमता तोकिएको यस कोर्समा १० जना विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । चारवर्षे कोर्सका लागि पाँच लाख ८७ हजार २०० रुपैयाँ शुल्क तोकिएको छ ।
उनले भने, “गरिब तथा जेहेनदार कोटामा ९ जनालाई पूर्ण छात्रवृत्ति दिइनेछ । बाँकी एक छात्रवृत्ति प्रत्येक सेमेस्टरमा उत्कृष्ट हुने एक जना विद्यार्थीले पाउनेछन् ।”
चारवर्षे कोर्सअन्तर्गत आठ सेमेस्टरमा यो कोर्सको अध्यापन गराइनेछ । इन्जिनियरिङ ड्रइङ, थर्मोडाइनामिक्स, मेकानिक्स, वर्कशप टेक्नोलोजी, रोबोटिक्स, अटोमोटिभ टेक्नोलोजी, ऊर्जा तथा वातावरण र डिजाइन लगायतका विषयहरू यो कोर्समा समावेश गरिएका छन् ।
भर्ना समितिका संयोजक तथा सह-प्राध्यापक डा. सुरेश बरालले हाल प्रवेश परीक्षाका लागि आवेदन खुला गरिएको जानकारी दिए । उनका अनुसार १२ भदौसम्म विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् । विद्यार्थीहरूले पूर्ण-शुल्कीय परीक्षाका लागि यहाँ क्लिक गरेर साइनअप गरी आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि आवेदन दिन भने यहाँ क्लिक गरेर साइनअप गरी प्रक्रिया अघि बढाउन सकिन्छ ।
प्रवेश परीक्षा १३ भदौमा दिउँसो ३ बजेदेखि सञ्चालन हुने जनाइएको छ ।
पछिल्लो अध्यावधिक: साउन २६, २०८२ १५:२१
