आकर्षक अफरसहित खल्तीले ल्यायो डिजिटल भिसा कार्ड, कहाँ कहाँ प्रयाेग गर्न मिल्छ ?
असार ३०, २०८३ ८:१६
काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ । कम्पनीले यो सेवा आफ्नो खल्ती कार्ड्स इकोसिस्टमअन्तर्गतको पहिलो कार्ड सेवाका रूपमा ल्याइएको जनाएको छ ।
खल्तीका अनुसार अब प्रयोगकर्ताले कुनै भौतिक कार्ड आवश्यक नपरी मोबाइलबाटै तत्काल सुरक्षित रूपमा अनलाइन (ई-कमर्स) कारोबार गर्न सक्नेछन् । डिजिटल कार्डमार्फत गरिने भुक्तानी खल्ती वालेटमा रहेको मौज्दात रकमबाट हुनेछ । वालेटमा पर्याप्त रकम नभएको अवस्थामा भने पहिले नै लिङ्क गरिएको बैंक खाताबाट आवश्यक रकम स्वतः काटिने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा प्रयोगकर्ताको आवश्यकता अनुसार डिजिटल तथा भौतिक दुवै प्रकारका थप कार्ड सेवाहरू सार्वजनिक गर्ने योजना रहेको जनाएको छ ।
सेवा सुरु भएको अवसरमा खल्तीले विभिन्न आकर्षक अफर पनि ल्याएको छ । कम्पनीका अनुसार पहिलो तीन महिनासम्म डिजिटल भिसा कार्ड निःशुल्क उपलब्ध हुनेछ । कार्ड सक्रिय गरेपछि प्रयोगकर्ताले एक हजार दामी पोइन्ट्सका साथै १२ सय रुपैयाँसम्मका विभिन्न क्यासब्याक र अन्य लाभ प्राप्त गर्नेछन् । त्यस्तै, प्रत्येक ई-कमर्स कारोबारमा ०.७५ प्रतिशतसम्म क्यासब्याक पनि उपलब्ध हुनेछ ।
कहाँ कहाँ प्रयाेग गर्न मिल्छ ?
खल्तीका प्रयोगकर्ताले एपभित्रै एक मिनेटभन्दा कम समयमा कार्ड सक्रिय गरी प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । यो कार्ड दराजलगायत विभिन्न ई-कमर्स प्लेटफर्म, एयरलाइन्स टिकेटिङ, होटल तथा ट्राभल बुकिङ, फूड डेलिभरी सेवा तथा भिसा भुक्तानी स्वीकार गर्ने जुनसुकै अनलाइन सेवामा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रेग्मीले डिजिटल भिसा कार्डले नगदरहित अर्थतन्त्र निर्माण, औपचारिक डिजिटल कारोबार विस्तार, ई-कमर्सको विकास तथा डिजिटल वित्तीय साक्षरता अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरेका छन् ।
सुरक्षा फिचर
प्रयोगकर्ताले सुरक्षाका लागि कार्ड नम्बर, सीभीभी र म्याद सकिने मिति जस्ता संवेदनशील विवरण आवश्यक पर्दा मात्र हेर्न र अरु समयमा हाइड गर्न सक्नेछन् । साथै, कुनै शंकास्पद गतिविधि देखिएमा वा आवश्यक नपर्दा प्रयोगकर्ता आफैँले एपबाटै तत्काल कार्डलाई लक गर्न वा निष्क्रिय गर्न सक्ने सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार ३०, २०८३ ९:१
