नेपालमा हाइड्रोजनबाट चल्ने सवारीका लागि नीति बनाउने सरकारको तयारी, यसरी दिनुहोस् सुझाव
असार ३२, २०८३ ७:२७
काठमाडौं । नेपाल सरकारले हाइड्रोजनमा आधारित सवारी साधनको प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीति, कानुनी व्यवस्था तथा प्राविधिक मापदण्ड निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि पूर्वाधार विकास मन्त्रालयले विश्वविद्यालय, अनुसन्धान संस्था, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा अन्य सरोकारवालासँग लिखित सुझाव मागेको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामकीय व्यवस्था, सुरक्षा मापदण्ड, प्राविधिक दिशानिर्देश तथा आवश्यक जनशक्ति विकाससम्बन्धी सुझाव संकलन गरिनेछ ।
सुझाव २०८३ असोज २० गतेभित्र [email protected] वा [email protected] इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विशेषगरी हाइड्रोजन सवारीसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, नीतिगत तथा कानुनी व्यवस्था, उत्पादन, भण्डारण, ढुवानी, वितरण र इन्धन भर्ने पूर्वाधार तथा सवारी सञ्चालनसँग सम्बन्धित सुरक्षा मापदण्डलगायत विषयमा सुझाव पेश गर्न आग्रह गरेको छ ।
यसका साथै, इन्टरनल कम्बस्चन इन्जिन तथा अन्य सवारीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, लागत, सुरक्षा तथा नियामक पक्ष, साथै प्राविधिक जनशक्ति र आपत्कालीन सेवाको क्षमता विकाससम्बन्धी सुझाव मागेको छ । सुझाव पेश गर्दा सम्बन्धित संस्था वा निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र, अनुभव र सम्पर्क विवरण समेत समावेश गर्नुपर्नेछ ।
मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको अध्ययन तथा विश्लेषणपछि नेपालमा हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि आवश्यक नीति, कानुनी व्यवस्था, मापदण्ड तथा कार्यविधि तर्जुमा प्रक्रियामा उपयोग गरिनेछ ।
पछिल्लो अध्यावधिक: असार ३२, २०८३ ७:२७
