विश्वकप लिग २ मा नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, यसरी हेर्नुहोस् लाइभ
साउन ५, २०८३ १४:३९
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले नामिबियाको सामना गर्दैछ । नेदरल्यान्ड्समा हुने यस ट्राई-सिरिजको उद्घाटन खेल नेपाली समयअनुसार आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ ।
नेदरल्यान्ड्स, नेपाल र नामिबिया सम्मिलित यो शृङ्खला २०२७ को एकदिवसीय विश्वकप छनोटका लागि निकै निर्णायक मानिएको छ । हालको अंक तालिकाअनुसार नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ भने नामिबिया २२ अंकका साथ सातौँ स्थानमा छ ।
लिग २ मा सहभागी ८ टोलीमध्ये शीर्ष चारमा पर्ने टोलीले सन् २०२७ को विश्वकप छनोटमा सिधै स्थान बनाउनेछन् ।
यो प्रतियोगिताका सबै खेल क्रिकेट समर्थकहरूले आईसीसी डट टिभी (ICC.tv) प्लेटफर्म मार्फत निःशुल्क रूपमा प्रत्यक्ष हेर्न सक्नेछन् । खेल हेर्ने प्रमुख र आधिकारिक माध्यम आईसीसी डट टिभी नै हो ।
यसका लागि सबैभन्दा पहिला ICC.tv को वेबसाइटमा जानुपर्नेछ । वा, मोबाइल प्रयोगकर्ताले गुगल प्ले स्टोर वा आईओएस एप स्टोरबाट ICC.tv एप डाउनलोड गर्न सक्नेछन् ।
यदि तपाईं नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने आफ्नो ईमेल प्रयोग गरेर निःशुल्क रूपमा एकाउन्ट रजिस्टर गर्नुपर्ने हुन्छ । एकाउन्ट खोलिसकेपछि 'Live and Upcoming' भिडिओ सेक्सनमा गएर नेपाल र नामिबियाबिचको खेल छनोट गरी लाइभ हेर्न सक्नुहुन्छ ।
पहिले नै रजिस्टर गरिसकेका प्रयोगकर्ताले भने सिधै साइन-इन गरेर खेल हेर्न सक्नेछन् ।
*समाचारमा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -स.
पछिल्लो अध्यावधिक: साउन ५, २०८३ १५:८
