अब सबै जिल्लाबाट वैदेशिक रोजगारी ठगीको उजुरीमा सुनुवाइ र कारबाही हुने, यस्तो छ अनलाइन प्रणाली
साउन ६, २०८३ ७:३७
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसँग सम्बन्धित उजुरी तथा मुद्दा व्यवस्थापनका लागि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । नयाँ प्रणालीमार्फत वैदेशिक रोजगारी ठगीमा परेका व्यक्तिले अब प्रमाणसहित स्वदेश वा विदेशबाटै अनलाइन माध्यमबाट उजुरी दर्ता गर्न सक्ने भएका छन् ।
मङ्गलबारदेखि सञ्चालनमा आएको उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली (ujuri.dofe.gov.np) मार्फत म्यानपावर कम्पनीले रकम लिएर नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जामा राखेको, करार सम्झौताअनुसारको काम, तलब वा सेवा-सुविधा नपाएको लगायतका विषयमा पीडित वा उनका परिवारका सदस्यले उजुरी दिन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार प्रणालीले उजुरी दर्तादेखि मुद्दा व्यवस्थापनसम्मको प्रक्रिया डिजिटल बनाउनेछ । उजुरीकर्ताले आफ्नो उजुरीको अवस्थाबारे इमेल तथा एसएमएसमार्फत नियमित जानकारी पाउनेछन् भने कारबाही प्रक्रियाको अभिलेख पनि व्यवस्थित रूपमा राखिनेछ । यसले वैदेशिक रोजगार विभागको उजुरी व्यवस्थापनलाई छिटो, छरितो, सरल र पीडितमैत्री बनाउने अपेक्षा गरिएको छ ।
यस्तै, प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीसम्बन्धी सामान्य प्रकृतिका उजुरीको सुनुवाइ र कारबाही प्रक्रिया सम्बन्धित ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट अघि बढाइने विभागले जनाएको छ । यससँगै यस्ता उजुरीका लागि पीडित काठमाडौं आउनुपर्ने बाध्यता हट्नेछ । जिल्लाभित्रका सामान्य प्रकृतिका वैदेशिक रोजगार ठगीका घटनामा सम्बन्धित जिल्लामै मिलापत्र गरिनेछ ।
मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका ठगीका घटनाको अनुसन्धान मात्र वैदेशिक रोजगार विभागले गर्ने व्यवस्था रहनेछ । विभागले यसबाट वैदेशिक रोजगार ठगीका पीडितलाई छिटो न्याय दिलाउन, क्षतिपूर्ति उपलब्ध गराउन तथा अलपत्र परेका कामदारको उद्धार प्रक्रिया थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८३ ७:४३
