close

डिजिटल वालेट ग्राहकका लागि पनि अब राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अपडेट गरिसक्नु पर्ने

टेकपाना टेकपाना

साउन ९, २०८३ ८:५२

डिजिटल वालेट ग्राहकका लागि पनि अब राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजभित्र अपडेट गरिसक्नु पर्ने

काठमाडौं । पुराना बैंक खातामा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरिरहेको नेपाल राष्ट्र बैंकले डिजिटल वालेट प्रयोगकर्ताका लागि पनि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२’ मा १५औँ संशोधन गर्दै वालेट खोल्दा र सञ्चालन गर्दा राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्नुपर्ने व्यवस्था गरेको हो।

नयाँ निर्देशनअनुसार अब भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरणसमेत यकिन गरी वालेट खोल्नुपर्नेछ ।

अनुमतिपत्र प्राप्त संस्थाले असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।

त्यस्तै राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र लिए नसकेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र लिएपछि ग्राहक पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिनामा जानकारी दिने व्यवस्था मिलाउनुपर्नेछ ।

राष्ट्र बैंकले विदेशमा बसोबास गर्ने नेपाली नागरिक र शारीरिक रूपमा असक्षम नागरिकका हकमा सहुलियत दिएको छ । यसअन्तर्गत विदेशमा रहेका नेपालीले अनलाइनमार्फत वालेट खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न सक्नेछन् । तर, उनीहरू नेपाल फर्किएको ३५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ ।

आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, अशक्त वा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य वैकल्पिक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न बाधा नपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

एउटै व्यक्तिको धेरै खाता र वालेटहरू हुँदा वित्तीय जोखिम बढ्ने, साइबर अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गतिविधिमा वालेटको दुरुपयोग हुन सक्ने देखिएकाले राष्ट्र बैंकले ‘सेन्ट्रलाइज्ड केवाईसी’ को अवधारणा अनुरूप यो नियम ल्याएको हो ।

तोकिएको समयभित्र विवरण अद्यावधिक नगर्ने वालेट प्रयोगकर्ताको कारोबारमा भविष्यमा प्राविधिक अवरोध आउन सक्ने वा सेवा सीमित हुन सक्ने राष्ट्र बैंकले संकेत गरेको छ ।

सम्बन्धित समाचार: 

असोजभित्र पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र अपडेट नगरे कारोबारमा अवरोध हुनसक्ने

पछिल्लो अध्यावधिक: साउन ९, २०८३ ९:७