काठमाडौं। डिजिटल सञ्चार सेवा प्रदायक कम्पनी आकाशटेलले एआई भ्वाइस एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले व्यवसायहरूमा फोन कल तत्काल उठाउन नसक्दा ग्राहकले आवश्यक जानकारी नपाउने र सम्भावित बिक्री तथा सेवाका अवसर गुम्न सक्ने समस्या समाधानका लागि एआईमा आधारित भ्वाइस एजेन्ट सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार एआई भ्वाइस एजेन्टले ग्राहकका फोन कल स्वतः उठाउने, उनीहरूको प्रश्न बुझ्ने, आवश्यक जानकारी दिने र आवश्यक परे सम्बन्धित कर्मचारीसँग जोड्ने काम गर्छ । यसले चौबिसै घण्टा मानिसले जस्तै स्वचालित रूपमा ग्राहकसँग कुराकानी गर्न सक्ने कम्पनीको दाबी छ । ग्राहकले जुन कुनै भाषामा प्रश्न सोधे पनि यसमा रहेको एआईले उक्त प्रश्नको आशय बुझेर उत्तर दिनेछ । यसैबाट अपोइन्टमेन्ट, सेवा शुल्क, कार्यालय खुल्ने समय, प्रडक्ट उपलब्ध भए नभएको लगायतका जानकारी लिन सक्नेछन् ।
कम्पनीका अनुसार प्रत्येक कम्पनीको आवश्यकता अनुसार एआईलाई तालिम दिन सकिन्छ । आफ्ना प्रडक्ट तथा सेवा, मूल्य, कार्यालय समय, बारम्बार सोधिने प्रश्न, बुक गर्ने तरिका, अफर तथा अन्य आवश्यक जानकारी उपलब्ध गराउन सकिने छ । त्यसका आधारमा एआईले ग्राहकलाई जानकारी उपलब्ध गराउनेछ । एआई भ्वाइस एजेन्टलाई ग्राहकका प्रश्नको जवाफ दिने काममा मात्र नभई अपोइन्टमेन्ट तथा रिजर्भेसन व्यवस्थापन, लिड छनोट, ग्राहकको विवरण सङ्कलन, भुक्तानी रिमाइन्डर, फलोअप, प्रतिक्रिया लिन तथा ग्राहक भेरिफिकेशनजस्ता काममा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकले सोधेका प्रश्न जटिल भएमा यसले सम्बन्धित कर्मचारीलाई कल ट्रान्सफर समेत गर्नेछ । कम्पनीका अनुसार यसले कल रिसिभमात्रै नभई ग्राहकलाई कल गरी अपोइन्टमेन्टबारे जानकारी दिन, बिमा नवीकरण, सदस्यता समाप्त हुने सूचना, भुक्तानी रिमाइन्डर जस्ता धेरै काम एआईमार्फत गर्न सकिन्छ । यो नेपाली, अङ्ग्रेजीका साथै अन्य भाषामा समेत सञ्चालन गर्न सकिने हुँदा यसले ग्राहकलाई कम्पनीसँगै जोडी राख्न थप मद्दत पुग्ने दाबी कम्पनीको छ ।
कम्पनीका अनुसार यो एआई भ्वाइस एजेन्टलाई सीआरएम (CRM), ग्राहकको डेटाबेस, हेल्पडेस्क, अपोइन्टमेन्ट व्यवस्थापन तथा अन्य व्यावसायिक सफ्टवेयरसँग पनि जोडेर प्रयोग गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्था, अस्पताल, होटेल, शैक्षिक संस्था, बिमा, ई-कमर्स, रियल इस्टेट तथा ग्राहकसँग निरन्तर सम्पर्कमा रहनुपर्ने अन्य क्षेत्रले समेत यसको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
आकाशटेलका उपाध्यक्ष राजन कोइरालाले एआई भ्वाइस एजेन्टको उद्देश्य मानव कर्मचारीलाई प्रतिस्थापन गर्नु नभई व्यवसायलाई २४सै घण्टा स्मार्ट, छिटो र एकरूप ग्राहक सेवा उपलब्ध गराउनु रहेको बताए । उनका अनुसार दोहोरिने कामलाई स्वचालित बनाएर कर्मचारीलाई अन्य महत्त्वपूर्ण काममा केन्द्रित गरी थप प्रभावकारी बनाउन सकिने छ ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ १५:९
