सुनसरी घटना: सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संयमित बन्न काउन्सिलको आग्रह, उल्लङ्घन भए खबर गर्न अपिल
साउन १२, २०८३ २०:३५
काठमाडौं । प्रेस काउन्सिल नेपालले सुनसरीलगायत पूर्वी जिल्लामा हालै भएको दुःखद तथा संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा उच्च व्यावसायिकता, संयमता र जिम्मेवारी प्रदर्शन गर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
काउन्सिलले संवेदनशील घटनाको समाचार सम्प्रेषणका क्रममा अपुष्ट सूचना, अफवाह, उत्तेजना फैलाउने सामग्री, घृणास्पद अभिव्यक्ति तथा सामाजिक, धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा पत्रकारिताको मूल मर्म सत्य, तथ्य, सन्तुलन र सार्वजनिक हितको संरक्षण भएको उल्लेख गर्दै आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिइएको छ । साथै पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता र मानवीय मर्यादाको सम्मान गर्न, अनुसन्धान प्रक्रियामा असर पर्ने अनुमान वा अपुष्ट विवरण सम्प्रेषण नगर्न तथा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।
प्रेस काउन्सिलले घटनासम्बन्धी प्रकाशित सामग्रीहरूको निरन्तर अनुगमन गरिरहेको पनि जनाएको छ । पत्रकार आचारसंहिता विपरीत समाचार वा सामग्री प्रकाशन तथा प्रसारण भएको देखिएमा काउन्सिलको अनुगमन शाखामा जानकारी गराई सहयोग गर्न सञ्चारमाध्यम, सञ्चारकर्मी तथा सर्वसाधारणलाई आग्रह गरिएको छ ।
यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिक, धार्मिक वा सामाजिक ध्रुवीकरणको माध्यम नबनाउन र शान्ति, सामाजिक सद्भाव तथा जिम्मेवार सञ्चार संस्कृतिको संरक्षणमा सबै पक्षबाट सहयोग हुने विश्वास व्यक्त गरेको छ ।
काउन्सिलले उक्त घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदनाका साथै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८३ २०:३५
