सांसद खुस्बु ओली विरुद्ध फेसबुकमा जथाभाबी लेख्दा प्रहरी हिरासत पुगे जापान जान लागेका युवा
साउन ११, २०८३ १०:५७
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा जथाभाबी लेखेकै कारण वैदेशिक रोजगारीका लागि जापान जाने अन्तिम तयारीमा रहेका एक युवासहित दुई जना प्रहरी हिरासतमा पुगेका छन् । सांसद खुस्बु ओली विरुद्ध फेसबुक र मेसेन्जरमा अपमानजनक शब्द प्रयोग गरेको आरोपमा रूपन्देहीका प्रदिप घिमिरे र चितवनका तेजेन्द्र पौडेल विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले ६ साउनमा दर्ता गरेको अभियोग पत्र अनुसार, प्रतिवादीहरू विरुद्ध साइबर अपराधको कसुरमा पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना माग दाबी गरिएको छ ।
अभियुक्तमध्येका ३१ वर्षीय तेजेन्द्र पौडेल चितवनको भरतपुर-१६ फूर्तीचोकका बासिन्दा हुन् । प्रहरी र सरकारी वकिल समक्ष दिएको बयान अनुसार उनी वैदेशिक रोजगारीको सिलसिलामा जापान जाने प्रक्रियामा थिए । तर, फेसबुक स्क्रोल गर्ने क्रममा सांसद ओलीले संसद बैठकमा दिएका अभिव्यक्ति र सञ्चारमाध्यममा आएका अन्तर्वार्ताहरू देखेपछि उनले असन्तुष्टि जनाउँदै फेसबुकमा एउटा पोस्ट गरे ।
उनले सांसद ओलीको तस्बिर शेयर गर्दै क्याप्सनमा 'च... परिको यही हो औकात' भनी लेखेका थिए । यही पोस्टलाई लिएर ओलीले उनी विरुद्ध साइबर अपराधको उजुरी दिएकी थिइन् । पौडेल २ साउनमा आफैं जिल्ला प्रहरी कार्यालय चितवनमा हाजिर हुन पुगेका थिए । जिल्ला अदालतले ३५ हजार रुपैयाँ धराैटीमा रिहा गरेपछि पौडेलले फेसबुकमा पोस्ट गर्दै आफू जापान पुगेको र केही समयमा नेपाल फर्किने बताएका छन् ।
मुद्दाका अर्का प्रतिवादी ३४ वर्षीय अबि भन्ने प्रदिप घिमिरे रूपन्देहीको कञ्चन गाउँपालिका-२ का स्थायी बासिन्दा हुन् । भरतपुर-१ मा इन्फिनिटी स्टुडियो सञ्चालन गर्दै आएका घिमिरेले पनि जाहेरवाला सांसदको संसदीय सम्बोधनप्रति असन्तुष्टि जनाउँदै फेसबुक मेसेन्जरमा सिधै मेसेज पठाएका थिए ।
उनले मेसेन्जरमा लेखेका थिए:
"त्यो संसद भवन अनि सांसद पद तपाईं जस्ता ..डा नाइके ह...हरुको र...को लागी पनि होईन् याद गर्नु होस् । समानुपातिक बाट सुटुक्क छिरेर पहिले यत्रो दम्भ, राजाको नाममा राजनीति को रोटी सेक्ने तपाई जस्ता अवसरवादीहरुलाई जनताले राम्रो सङ चिनेका छन। तपाइहरुको पार्टीको एजेन्डा के हो, मुद्दा के हो त्यसमा भन्दा पनि जनता को मुद्दा मा केन्द्रित हुनुहोस ।"
सांसद ओलीले आफूलाई फेसबुक र मेसेन्जरमार्फत दुःख हैरानी दिएको, चरित्रहत्या गरेको र घृणा फैलाएको भन्दै प्रहरीमा २ साउनमा किटानी जाहेरी दिएकी थिइन् । घिमिरे पनि सोही दिन चितवन प्रहरी कार्यालयमा आफैं उपस्थित भएका थिए ।
के हुन्छ अब ?
प्रहरीले बरामद गरेको प्रतिवादीहरूको मोबाइल परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याब पठाइएको छ । प्राप्त स्क्रिनशट र प्राविधिक विश्लेषणका आधारमा सरकारी वकिल कार्यालयले दुवै अभियुक्तले विद्युतीय माध्यमको दुरुपयोग गरी सांसदको इज्जत, मान-सम्मान र प्रतिष्ठामा आँच पुर्याएको निष्कर्ष निकालेको छ ।
अभियोग पत्रमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) को कसुर पुष्टि भएको दाबी गर्दै सजाय माग गरिएको छ । यो कसुरमा दोषी ठहर भएमा ५ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।
चितवन जिल्ला अदालतको ७ साउनको इजलासले प्रतिवादी घिमेरेलाई पनि धरौटीमा छाड्ने आदेश दिएको छ । अदालतबाट यो मुद्दाको अन्तिम किनारा लाग्न भने समय लाग्नेछ ।
पछिल्लो अध्यावधिक: साउन ११, २०८३ १४:९
