काठमाडौं । टिकटकमा अब मनोरञ्जन मात्र होइन, छिट्टै सामानहरू समेत खरिद गर्न पाइने भएको छ । यसअघि एपमा दिइने विज्ञापनको आधारमा मात्र सामान खरिद गर्न पाइने थियो ।
अब भने एपमै उपलब्ध ‘शपिङ’ ट्याब मार्फत सिधै सामान खरिद गर्न मिल्ने भएको छ । क्यानेडेली ईकमर्श कम्पनी शपिफाईले मंगलबार यस्तो घोषणा गरेको हो ।
कम्पनीका अनुसार अब व्यावसायीहरूले टिकटकमा शपिङ ट्याब राख्न मिल्नेछ, जसमा भएको लिंकमा क्लिक गरेपछि ग्राहकले सिधै व्यावसायीको वेबसाइटमा गएर सामान खरिद गर्न मिल्नेछ ।
शपिफाई र टिकटकबीचको सहमतिपछि हाल परीक्षणकै क्रममा रहेको यो फिचर अमेरिका, बेलायत र क्यानडाका प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ ।
केही महिनाभित्रै यो फिचर अन्य देशमा पनि उपलब्ध गराउने कम्पनीको याेजना छ ।
टिकटककाे अभिभावक कम्पनी बाइटडान्सले चीनमा मात्र प्रयोग हुने टिकटक “डाओयीन” मा यो सुविधा चिनियाँ बजारका लागि पहिलेदेखि नै उपलब्ध गराउँदै आएको छ ।
टिकटकमा सुरुवात भएको यो सुविधा अमेरिकी सेलिब्रेटी काइली जेनरले आफ्ना सौन्दर्यसँग सम्बन्धित सामग्रीहरू बिक्री गरेर सुरुवात गरेकी छन् ।