close

गुगलले हरेक वर्ष एप्पललाई किन दिन्छ अर्बौं डलर ?

टेकपाना टेकपाना

भदौ १०, २०७८ १८:२७

गुगलले हरेक वर्ष एप्पललाई किन दिन्छ अर्बौं डलर ?

काठमाडौं । एप्पल र गुगल प्रविधिका हिसाबले धेरै क्षेत्रमा प्रतिस्पर्धी कम्पनी हुन् । दुवैको आ-आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम छ । जसमा गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । त्यतिमात्रै नभएर स्मार्टफोनमा पनि यी दुवै कम्पनीको आ-आफ्नै प्रडक्ट छ । गुगलको पिक्सेल र एप्पलको आईफोन ।

हुन त स्मार्टफोनमा यी दुई कम्पनीलाई प्रतिस्पर्धी मान्न सक्ने अवस्था छैन । किनभने स्मार्टफोन बजारमा गुगलको पिक्सेलभन्दा एप्पल कयौं गुणाले अघि छ । सँगै गुगल म्याप र एप्पल म्यापकाे कुरा गर्ने हाे भने गुगल निकै अघि छ ।

यस्ता धेरै प्रडक्ट छन्, जसमा यी दुई कम्पनीबीच सधैं प्रतिस्पर्धा हुने गरेको छ । तर, पनि गुगलले एप्पललाई हरेक वर्ष अर्बाैं अमेरिकी डलर तिर्दै आएको छ । यो सुन्दा धेरैलाई अचम्म पनि लाग्न सक्छ । तर, यथार्थ भने यही नै हो । जुन कुरा गोप्य पनि छैन ।

किनभने दुवै कम्पनीहरूले यो विषयमा जानकारी दिँदै आएका छन् । त्यसैले यहाँ हामी गुगलले किन एप्पललाई यति धेरै पैसा तिर्दै आएको छ भन्ने विषयमा जानकारी दिँदै छौं ।

डिल के हो त ? 

सबैभन्दा महत्वपूर्ण भनेको ‘डिफल्ट’ हो भनेजस्तै यी दुईबीचको सम्झौता पनि ‘डिफल्ट’ कै हो । एप्पलको वेब ब्राउजर सफारीमा सर्च इन्जिनको रुपमा गुगललाई डिफल्ट बनाइएको छ । जसका लागि गुगलले एप्पललाई पैसा तिर्दै आएको छ ।

त्यसो भए एप्पलले पैसाकै लागि डिफल्ट सर्च इन्जिनको रुपमा गुगल राखेकाे हाे त ? यो विषय धेरैका लागि चासोको विषय हुन सक्छ । त्यसको जवाफमा सन् २०१८ एप्पलका तत्कालीन सीईओ टिम कुकले सर्च इन्जिनमा गुगल सबैभन्दा उत्कृष्ट रहेको बताएका थिए ।

अब कुरा रह्यो, यो सम्झौता कहिले भयो त ? यी दुई कम्पनीले सन् २००५ मै यो सम्झौता गरेका थिए, जसलाई त्यो समयकै ठूलो सम्झौताको रुपमा हेरिएको थियो ।

त्यसको दुई वर्षपछि मात्रै एप्पलले आईफोन सार्वजनिक गरेको हो । भने, उक्त सम्झौता सन् २०१० सम्म निरन्तर चलिरह्यो ।

विस्तारै एप्पलका प्रयोगकर्ता बढ्दै गए र सम्झौताको रकम समेत वृद्धि हुँदै गयो । जुन आजसम्म पनि निरन्तर रहेको छ ।

गुगलले एप्पललाई कति पैसा तिर्छ ? 

यी कुरा गरीसक्दा गुगलले एप्पललाई कति पैसा तिर्छ भन्ने विषय धेरैका लागि चासोको विषय हुन सक्छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार गुगलले कुनै एक कम्पनीलाई यति धेरै पेमेन्ट गर्ने यो नै पहिलो सम्झौता हो ।

जुन वार्षिक रुपमा एप्पलले गर्ने खुद नाफाको १४ देखि २१ प्रतिशत हुने आउने आँकलन गरिएको छ । उक्त सम्झौतामा कुनै गोप्य नभएता पनि पैसाको विषयमा अमेरिकी नियामकको दबाबका कारण उल्लेख गरिएको छैन ।

तर पनि सन् २०१४ मा गुगलले एप्पललाई एक अर्ब अमेरिकी डलर बुझाएको थियो । जुन पछिल्ला वर्षहरुमा ठूलो मात्राले बढी रहेको छ । भने, यो वर्ष १८ देखि २० अर्ब डलर पुग्ने अनुमान गरिएको छ । 

गुगलले यसबाट के प्राप्त गर्छ त ? 

अब कुरा रह्यो यति धेरै पैसा तिरेर गुगलले के पाउँछ त ?  पछिल्लो सयम एप्पलका प्रयोगकर्ता ठूलो मात्रमा वृद्धि भएको छ । यस्तोमा गुगल सर्च इन्जिनलाई डिफल्ट बनाउँदा गुगलको ट्राफिक बढ्ने भयो ।

एक अध्ययनका अनुसार गुगलको करिब आधा ट्राफिक एप्पलका डिभाइसबाट आउने गरेको छ । उक्त ट्राफिकमार्फत गुगलले ठूलो विज्ञापन प्राप्त गरिरहेको हुन्छ ।

सन् २०२० मा गुगलले गुगलको सर्च विज्ञापनमार्फत १०४ बिलियन अमेरिकी डलर आम्दानी गरेको अनुमान गरिएको छ । जुन गुगलले विज्ञापन बाट गर्ने कुल आम्दानीको ७१ प्रतिशत हो । भने, अल्फावेटको आम्दानीको ५७ प्रतिशत ।

त्यो हिसाबले पनि गुगलले एप्पललाई तिरेको उक्त रकम गुगलका लागि नै फलदायक हुँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१