काठमाडौं । देशको सुरक्षाको विषयलाई लिएर गतवर्ष भारतले केही चिनियाँएपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको एक वर्ष पुरा हुँदा चिनियाँ एपहरूको प्रयोगमा भने व्यापक वृद्धि देखिएको छ ।
जसमा केही प्रतिबन्धित कम्पनीका एपहरूको पनि प्रयोग बढेको छ । भारतीय सञ्चार माध्यम ‘आज तक’का अनुसार चिनियाँ कम्पनीले आफ्नो पहिचान लुकाएर एपहरू सार्वजनिक गर्ने गरेका छन् ।
भारतमा प्रयोग हुने उत्कृष्ट ६० एपहरूमा कम्तिमा पनि आठ ओटा एप चिनियाँ कम्पनीका भएको उल्लेख छ । यी सबै एप कूल २१ करोड १० लाख प्रयोगकर्ताको पहुँचमा रहेका छन् ।
गत वर्षको जुलाईमा ती एपहरू प्रतिबन्धमा पर्दा नौ करोड ६० लाख प्रयोगकर्ता थिए । पछिल्लो १३ महिनामा यो संख्या ११ करोड ५० लाखले बढेको हो ।
गत वर्ष भारत सरकारले दुई सय ६७ ओटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धित सबै एपहरू मिडिया र इन्टरटेनमेन्ट क्याटेगोरीका हुन् ।
जसमा टिकटक पनि एक हो । विज्ञहरूका अनुसार यस्ता एपहरू तीव्र रुपमा प्रयोगकर्ताहरूको पहुँचमा पुगिरहेका छन् । कुनैकुनै एप त एक महिनामै एक करोड प्रयोगकर्ताहरू समक्ष पुग्ने गरेको जनाइएको छ ।
जसमा सबैभन्दा छिटो फैलनेमा प्ले इट एप हो । जसबाट पाइरेटेड फिल्म र वेब सिरिज डाउनलोड गर्न मिल्छ ।
मस्त:म्यूजिक स्टाटस (mAst: Music Status), नोइज (Noizz), मिवि (Mivi), रेसो (Resso), टिकी (Tiki), शेयरमी (Shareme), र जिलि चाइनिज (Zili Chinese) आदि एपहरू छोटो समयमै प्रयोगकर्ताको पहुँचमा पुग्ने एपमा पर्दछन् । सुरक्षा एजेन्सीले खतराको संकेत नदेखाएसम्म सरकारले कुनै कदम नचाल्ने भारतीय सञ्चारमाध्यमले जनाएको छ ।