काठमाडौं । मानसिक स्वास्थ्यसँग सामना गरिरहेका र आत्महत्यासम्बन्धी खोजी गर्ने प्रयोगकर्तालाई सहयोग गर्ने गरी टिकटकले आफ्नो योजना सार्वजनिक गरेको छ ।
टिकटकले आफ्नो ब्लगमार्फत सार्वजनिक गरेको योजनामा प्रयोगकर्ताको मानसिक स्वास्थ्यका लागि विभिन्न सहायता गर्ने उल्लेख छ ।
कुनै प्रयोगकर्ताले आत्महत्या शीर्षकमा कुनै खोज गरेमा उनीहरुलाई मानसिक स्वास्थ्यसम्बन्धी सहायता सामग्री देखाउने टिकटकको योजना छ ।
‘हामी हाम्रा प्रयोगकर्ताबारे सचेत छौं र उनीहरुको सहायताका लागि विभिन्न विकल्पको खोजीमा छाैं,’ टिकटकले आफ्नो ब्लगमा लेखेको छ ।
यो फिचर आगामी सातादेखि सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
उदाहरणका लागि टिकटकमा कसैले आत्महत्या (सुसाइड) भनेर सर्च गरेमा टिकटकले त्यस्ता प्रयोगकर्तालाई सम्बन्धित स्थानीय इमर्जेन्सी रेस्पोन्स टिमलाई जानकारी गराउने छ भने मानसिक स्वास्थ्यसम्बन्धी सामग्रीहरु देखाउनेछ ।
टिकटकजस्तै अन्य सामाजिक सञ्जाल कम्पनीहरुले पनि आफ्ना प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा ध्यान राख्दै यस्ता फिचर सुरु गरिसकेका छन् ।
बेलायतको प्रिन्स ट्रष्ट र एजुकेशन पोलिसी इन्स्टिच्युटले गरेको एक अध्ययनका अनुसार अत्याधिक सामाजिक सञ्जालको प्रयोगका कारण किशोरकिशोरीहरुको मानसिक स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।
अत्याधिक सामाजिक सञ्जालको प्रयोगले मानिसहरु बेखुशी रहने र आत्मविश्वास गुमाउँदै जाने तथ्य अध्ययनले औंल्याएको थियो ।
त्यस्तै, उनीहरु निराशावादी बन्ने र डिप्रेशनको शिकार बन्ने गरेको तथ्य पनि अध्ययनले बाहिर ल्याएकाे थियो ।
यसअघि फेसबुक स्वामित्वको फोटो शेयरिङ प्लेटफर्म इन्स्टाग्रामले गरेको एक आन्तरिक अनुसन्धानले कुनै कुनै अवस्थामा किशोरकिशोरीहरुले आफ्नो प्लेटफर्म प्रयोग गर्दा उनीहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्ने निष्कर्ष निकालेको थियो ।
इन्स्टाग्रामले आन्तरिक रुपमा अध्ययन गरी गोप्य राखेको यो निष्कर्ष वालस्ट्रिट जर्नलले सार्वजनिक गरेको छ ।
वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार इन्स्टाग्रामले आफ्नो एपको प्रयोगबाट युवा प्रयोगकर्तालाई हुने प्रभावको विषयमा अनुसन्धान गरेको थियो ।
यो अध्ययनबाट विशेषगरी किशोरीहरुमा दुई वर्षभन्दा बढी इन्स्टाग्राम प्रयोग गर्दा नकारात्मक असर गर्ने निष्कर्ष निकालिएको थियो ।