close

२४ घण्टाभित्र आईपीटिभी बन्द नगरे सेवा अवरुद्ध पार्ने केबल व्यवसायीको चेतावनी

टेकपाना टेकपाना

असोज १४, २०७८ १८:१७

२४ घण्टाभित्र आईपीटिभी बन्द नगरे सेवा अवरुद्ध पार्ने केबल व्यवसायीको चेतावनी

काठमाडौं । ओटीटी एप, वेब ब्राउजिङ, आईपीटीभी, भीओडी जस्ता प्लाटफर्म बन्द नगराए ताला चाबी सरकारलाई बुझाउन भन्दै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । महासंघ बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको प्रसारण विभागलाई पत्र पठाउँदै गैरकानुनी रुपमा सञ्चालनमा रहेका प्ल्याटफर्म तत्कालै बन्द गराउनु पर्ने चेतावनी दिएको हो ।

‘राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार प्रसारणको अनुमति नलिई कार्यक्रम प्रसारण गर्न पाइदैन,’ महासंघको २४ घण्टे अल्टिमेटम पत्रमा भनिएको छ, ‘तर इन्टरनेट ओटीटी एप, वेब ब्राउजिङ, आईपीटीभी, भीओडी लगायतले प्रसारणको अनुमति नलिई प्रसारण गरिरहेको, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ लगायत प्रसारण सम्बन्धी कानूनको परिपालना नभएको पाइएको छ ।’

यसरी गैरकानूनी प्रसारण तथा कानूनको यथोचित परिपालना नहुँदा केवल टेलिभिजन व्यवसाय नै बन्द हुने अवस्थाको सिर्जना भएको समेत उनीहरूले बताएका छन् । त्यसैले यस्ता गैरकानूनी कार्यहरू अविलम्ब बन्द गराई आवश्यक कारबाही गर्ने समेत उनीहरूको माग छ । यो विषयमा विभिन्न मितिमा प्रसारण विभागलाई निवेदन दिएको भएका पनि विभागबाट कुनै कदम नचालिएको आरोप उनीहरूको छ ।

‘उजुरीको विषयमा के कारबाही भएको छ ? उजुरीमा उल्लेखित गैरकानूनी प्रसारण किन हालसम्म पनि बन्द नगराइएको हो ? भन्ने विषयमा लिखित जानकारी समेत उपलब्ध गराउनु पर्छ ।’, उक्त निवेदनमा उल्लेख छ ।

साथै केवल टिभी व्यवसाय नै धराशायी बनाउने नियत राखी नेपाल विद्युत प्राधिकरणले साविकको तुलनामा अस्वभाविक रुपमा गरेको पोल भाडा वृद्धि रद्द गर्न समेत उनीहरूले माग राखेका छन् । यदि उल्लेखित विषय माथि २४ घण्टा भित्र आवश्यक कारवाही नगरिएको खण्डमा सम्पूर्ण केवल टेलिभिजन व्यवसायी व्यवसायनै बन्द गरी ताला चाबी बुझाई शसक्त आन्दोलनमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५