close

डेलका कम्प्युटर म्याक ओएसमा आधारित हुन् भन्ने चाहन्थे स्टिभ जब्स

टेकपाना टेकपाना

असोज २१, २०७८ १५:२१

डेलका कम्प्युटर म्याक ओएसमा आधारित हुन् भन्ने चाहन्थे स्टिभ जब्स

काठमाडौं । टेक गुरुको रुपमा परिचित एप्पलका सहसंस्थापक स्टिभ जब्सको निधन भएको मंगलबार ठ्याक्कै १० वर्ष पुरा भएको छ । निधनको १० औं वर्ष पुरा भएको यो अवसरमा जब्सलाई सम्झदै धेरैले धेरै कुरा बाहिर ल्याएका छन् ।

यसै क्रममा डेलका संस्थापक तथा सीईओ माइकल डेलले जब्ससँगको आफ्नो सम्बन्धको विषय खुलाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यम सीनेटसँगको कुराकानीमार्फत उनले जब्ससँगको आफ्नो सम्बन्ध र व्यवसायिक योजनाका विषयमा जानकारी सार्वजनिक गरेका हुन् ।

‘मैले जब्सलाई पहिलो पटक कम्प्युटर युजर ग्रुपको बैठकमा भेटेको थिए,’ डेलले भनेका छन्, ‘तर, हामी बिचको सम्बन्ध भने सन् १९९३ मा पीसी बजारमा डेल सबैभन्दा अघि भएपश्चात मात्रै भएको थियो ।’

यो बिचमा जब्स ‘नेक्स्ट अप्रेटिङ सिस्टम’ डेलका कम्प्युटरमा प्रयोग गर्नुपर्‍यो भन्दै धेरै पटक टेक्सास स्थित डेलको घरमा पुगेका थिए । यो त्यति बेलाको कुरा थियो जब जब्स एप्पलबाट निकालिएका थिए । एप्पलबाट निकालिएका जब्स आफैले ‘नेक्स्ट’ नामक ओएस निर्माण गरेका थिए ।

तर, महंगो लागतका कारण उनको त्यो महत्वपूर्ण उत्पादनले बजार लिन भने सकेन । डेलले पनि सफ्टवेयरको अपूर्णता र ग्राहकको रुचिलाई ध्यानमा राख्दै उक्त सिस्टमलाई त्यसबेला अपनाउन सकेन । डेलले भनेका छन्, ‘जब जब्स सन् १९९७ मा एप्प्लको सिईओको रुपमा कम्पनीमा फर्किए तब उनले डेललाई नेक्सट म्याच सफ्टवेयरमा आधारित निर्माण हुने म्याक ओएसलाई अपनाउन आग्रह गरेका थिए ।’

उनको चाहना बजारमा डेलका डेक्सटप म्याक ओएसमा आधारित भएर चलिरहेका छन् भनेर देखाउनु थियो । जब्सको यो प्रस्तावमा डेल पनि केही लचक भएको थियो । तर, डेलको प्रस्ताव भने जतिओटा पीसी म्याकओएसमा आधारित भएर बिक्नेछन् त्यसको मात्रै लाइसेन्स लिने थियो ।

डेलको उक्त अफरलाई जब्सले स्विकार्न सकेनन् । उनी चाहन्थे डेलका ल्यापटपमा दुबै ओएसले काम गर्ने बनाउने र त्यसबाट प्रयोगकर्ताले जुन ओएस प्रयोग गर्छन त्यसको पैसा तिर्नु पर्छ । त्यसो नहुने हो भने एप्पलको आफ्नै म्याकको बजारमा असर पर्न सक्ने आँकलन जब्सको थियो ।

यसरी दुई बिचमा कुरा नमिल्दा जब्स यो परियोजनाबाट पछि हटेका थिए । पछि एप्पल फरक शैलीमा अघि बढ्दै गएको डेलले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१