काठमाडौं । विश्वका लागि यतिबेला जलवायु परिवर्तन सबैभन्दा ठूलो समस्या हो । राजनीतिक र वातावरणीय बहसहरूको मुख्य विषय बनिरहेको जलवायु परिवर्तनले सबैलाई आफूतर्फ ध्यान केन्द्रित गराउन सफल भएको छ । यस्तोमा जलवायु परिवर्तनलाई कम गर्न विभिन्न प्रविधि कम्पनी पनि लागिपरेका छन् ।
यसैबीच गुगलले बुधबार गुगल सर्च र म्यापको नयाँ भर्सन सार्वजनिक गरेको छ । नयाँ अपडेटले वातावरणीय प्रदुषणलाई कम गर्न मद्दत गर्ने उल्लेख छ । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण फिचर भनेको जलवायु परिवर्तन ‘क्लाइमेट चेन्ज’ सँग सम्बन्धित जानकारी हो । अब गुगलमा जलवायु परिवर्तनसँग सम्बन्धित कुनै पनि विषयमा सर्च गर्दा आउने रिजल्टका लागि छुट्टै पेजको व्यवस्था गरेको छ ।
जहाँ जलवायु परिवर्तनसँग सम्बन्धित सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । त्यस्तै तपाईं कतै यात्रा गर्दै हुनुहुन्छ र त्यसक्रममा कुन होटल उपयुक्त हुन्छ भनेर गुगलमा सर्च गर्नुभयो भने अब गुगलले कुन होटल वातावरण मैत्री छन् भनेर समेत देखाउने छ ।
गुगलले यो फिचर उपलब्ध गराएसँगै धेरै होटलहरूले यसमा आफ्नो जानकारी उपलब्ध गराउन थालिसकेका छन् । यसले अन्य होटललाई समेत दबाब सिर्जना गर्ने र विस्तारै सबै होटल वातावरणमैत्री हुने अपेक्षा गुगलको छ ।
Google
यसका साथै गुगलले अब कुन प्लेनले कति कार्बनडाइअक्साइड उत्सर्जन गर्छ भन्ने विषयको समेत जानकारी दिने बताइएको छ ।
अर्को फिचर भनेको ‘शपिङ’ हो । यो फिचर हाल अमेरिकामा मात्रै उपलब्ध छ । यसअन्तर्गत प्रयोगकर्ताले इनर्जी खपत गर्ने कुनै उपकरण खरिदका लागि गुगलमा सर्च गरेको खण्डमा सस्तो र दिगो कुन हुन्छ भनेर जानकारी दिने जनाइएको छ ।
साथै सन् २०२२ को पहिलो महिनाबाट कम्पनीले गुगलमा कार सर्च गर्दा इलेक्ट्रिक र हाइब्रिडको विषयमा सहजै पत्ता लगाउन सकिने फिचर उपलब्ध गराउने जनाएको छ । यस्तै अर्को महत्वपूर्ण फिचर भने गुगल म्यापमा आएको परिवर्तन हो ।
गुगल म्यापको नयाँ भर्सनमा अब कुन मार्गबाट जाँदा वातावरणीय असर कम वा बढी हुन्छ भन्ने कुरासमेत जानकारी दिनेछ । गुगलका अनुसार यसरी उपलब्ध गराइएको मार्गले कम इन्धन खपतमा समेत सघाउनेछ ।
यतिमात्र होइन, अब गुगल म्याप्सले हरेक सवारी चालकका लागि सबैभन्दा कम इन्धन खपत हुने मार्गलाई स्वतः डिफल्ट रुटको रुपमा देखाउनेछ । यसरी डिफल्ट रुटको रुपमा देखिने मार्ग भएर जाँदा सबैभन्दा छिटो पुगिन्छ भन्ने चाहिँ होइन ।
किनभने, गुगलले फेला परेका रुटहरूलाई सावधानीपूर्वक अध्ययन तथा तुलना गरी तपाईंलाई सजेस्ट गर्नेछ । गन्तव्यमा पुग्न छिटो हुने र इन्धन खपत कम हुने रुट लगभग समान भएको अवस्थामा मात्र गुगल म्यापले डिफल्ट रुटको रुपमा देखाउनेछ ।
कम कार्बन उत्सर्जन हुने रुट र अनुमानित रुपमा छिटो पुगिने रुट समान भएको अवस्थामा गुगल म्यापले डिफल्ट रुटको रुपमा देखाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हाल यो फिचर अमेरिकामा मात्रै उपलब्ध भएको छ । भने, आगामी वर्ष युरोप तथा अन्य मुलुकमा समेत उपलब्ध हुनेछ ।