close

बागमती प्रदेशका सबै सूचना अब एउटै पोर्टलमा

टेकपाना टेकपाना

असोज २२, २०७८ २०:२०

बागमती प्रदेशका सबै सूचना अब एउटै पोर्टलमा

काठमाडौं । अब बागमती प्रदेश सरकारका सबै सूचना तथा जानकारी एउटै पोर्टलबाट पाउन सकिने भएको छ । सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सुरु गरिएको हो । 

प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्राली डा. अजय क्रान्ति शुक्रबार सूचना बैंकको उद्घाटन गरे ।   प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीको व्यवस्था अनुरूप यो प्रणाली सञ्चालनमा ल्याइएको हो । 

जसअनुसार प्रदेशका सात ओटै मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभासहित १४ ओटा कार्यालयका सूचना एउटै पोर्टलबाट पाउन सकिने बनाइएको छ । ‘नेपालमै पहिलोपटक बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा ल्याउन सक्नु हाम्रा लागि गर्वको विषय हो,’ मन्त्री क्रान्तिले भने, ‘अहिले १४ ओटा कार्यालयका सूचना तथा जानकारी सूचना बैंकमा आउनेछ ।’

आगामी दिनमा बागमती प्रदेशका ११९ ओटै स्थानीय तहका सूचना समेत यसैमा आउनेगरी सूचना बैंक विकास गर्ने प्रदेश सरकारको तयारी छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारिता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिए ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी ज्ञानदीप राईले बताए । प्रयोगकर्ताले इन्फोबैंक डट बागमती डट जीओभी डट एनपीमा गएर प्रदेशका सम्पूर्ण सूचनामा पहुँच पाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१