close

ई-फार्मको दशैँ मेला, भिडिओ कलमा खसी हेरेर अर्डर गर्न सकिने

टेकपाना टेकपाना

असोज २५, २०७८ २०:५५

ई-फार्मको दशैँ मेला, भिडिओ कलमा खसी हेरेर अर्डर गर्न सकिने

काठमाडौं । दशैँ तिहारलाई लक्षित गरी ई-फार्मले खसी मेला सुरु गरेको छ । ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैँले रोजेर खसी, कुखुरा र हाँस किन्न सक्नेछन् ।

साथै ई-फार्मको भाइबर, इन्स्टाग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडिओ कल गरेर खसी छनौट गरी अर्डर गर्न सकिनेछ । बिहान ५ बजेदेखि राती १२ बजेसम्म जुनसुकै समयमा फोन गरेर खसी तथा कुखुरा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

असोज २५ देखि सुरु भएको खसी मेला कात्तिक ९ गतेसम्म चल्नेछ। ई-फार्मको बालुवाटार स्थित स्टोरबाट समेत मासुको बिक्री सुरु गरिएको बताइएको छ । ग्राहकको मागअनुसार खसी जिउँदै वा काटेर सफा गरेर डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

ई-फार्मको वेबसाइट, टेलिकम अथवा एनसेलको नम्बरमा कल गरेर समेत अर्डर गर्न सकिनेछ । ई-फार्मले केही साताअघि देखि नै अनलाइनबाट प्रि-बुकिङ सुरु गरेको थियो ।

त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन केजी भन्दा बढी अर्डर दिएर घरमै डेलिभरी प्राप्त गर्न सक्ने बताइएको छ । ई-फार्ममा धनकुटा, बैतडी, उदयपुर, सल्यान लगायतका पहाडी जिल्लाबाट ल्याइएका खसी र नुवाकोटका कुखुरा उपलब्ध छन् ।

करिब ११ रोपनी जग्गामा ई-फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ । दुई वर्ष अगाडि खसी र च्याङ्ग्रा बिक्री गर्दै सुरु भएको ई-फार्मले अन्य कृषि उत्पादन सहित सेवा विस्तार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१