close

कस्तो हुनुपर्छ सरकारी वेबसाइट ? यस्तो छ मापदण्ड

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ ८:२

कस्तो हुनुपर्छ सरकारी वेबसाइट ? यस्तो छ मापदण्ड

काठमाडौं । सरकारले सबै सरकारी कार्यलयको वेबसाइट अनिवार्य हुनुपर्ने निर्णय गरेसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी वेबसाइटका लागि ‘सरकारी कार्यलयको वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको निर्देशिकाले सरकारी वेबसाइटको सेफ्टी अडिटलाई अनिवार्य गरेको छ । कम्तीमा पनि वर्षको एकपटक सेफ्टी अडिट गर्नुपर्ने प्रावधान बनाइएको छ । त्यस्तै प्रत्येक कार्यलयले वेबसाइट अपडेट गरिरहन एक जना वेब एडमिनिष्ट्रेटर राख्नुपर्ने उल्लेख छ ।

निर्देशिका अनुसार सबै सरकारी कार्यालयले आफ्नो वेबसाइटमा कार्यलय प्रमुख, प्रवक्ता, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी र अन्य पदाधिकारीहरूको परिचय र निजहरूको जिम्मेवारी स्पष्ट रुपमा खुलाएर राखेको हुनुपर्नेछ ।

त्यसैगरी कार्यलयले सम्पादन गर्ने काममा सम्बन्धित जिम्मेवार कर्मचारीको विवरण र सम्पर्क टेलिफोन र ईमेल सहित राख्नुपर्नेछ । यसलगायत कार्यलयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूको विवरण पनि उल्लेख गरेको हुनुपर्नेछ ।

त्यसैगरी वेबसाइटमा कार्यालयको सम्पर्क गर्न सकिने स्थान र ठेगाना, बारम्बार सोधिने जिज्ञासाहरू (FAQ), सुझाव तथा गुनासो पठाउने व्यवस्था, कार्यलायबाट प्रकाशित सूचना, टेण्डर तथा विज्ञप्ति, कार्यलयको कामसँग सम्बन्धित वेबपेजहरूको लिङ्क, कार्यलयको वार्षिक प्रतिवेदन, बजेट र कार्ययोजनाका कागजातहरू, वेबसाइट भित्रका विषय बस्तुमात्र खोज्नका लागि सर्च इन्जिन लगायत अन्य सामान्य जानकारीहरू सबै अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

निर्देशिकाअनुसार सबै सरकारी कार्यालयहरूको वेबसाइट एकैप्रकारको टेम्प्लेटको हुनुपर्नेछ भने वेबसाइटमा उपलब्ध सामग्रीहरू एचटीएमएल, माइक्रोसफ्ट वर्ड र पीडीएफ तीनै प्रकारमा उपलब्ध हुनुपर्नेछ र सम्पूर्ण सामग्री युनिकोड नेपालीमा उपलब्ध गराउनुपर्नेछ । अंग्रेजी भाषालाई भने अनिवार्य गरिएको छैन । 

सबै सरकारी कार्यालयलहरूले आफ्नो वेबसाइटको सेक्युरिटी रिस्कको अडिट अनिवार्य रुपमा गराउनुपर्नेछ । सबै वेबसाइट अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि पहुँच हुने गरी बनाउनुपर्नेछ । यस निर्देशिका बमाोजिम निर्माण गरिएका वेबसाइटहरू सरकारी एकीकृत डेटा सेन्टरमा होस्ट गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१