close

‘स्क्विड गेम’ बाट प्रभावित भएर जथाभावी एप डाउनलोड गर्दै हुनुहुन्छ ? सावधान !

टेकपाना टेकपाना

कात्तिक १०, २०७८ ९:१९

‘स्क्विड गेम’ बाट प्रभावित भएर जथाभावी एप डाउनलोड गर्दै हुनुहुन्छ ? सावधान !

काठमाडौं । पछिल्लो समयमा निकै चर्चा कमाएको कोरियन चलचित्र ‘स्क्विड गेम’ को नाममा विभिन्न एपको माध्यमबाट ह्याकरहरूले प्रयोगकर्ताको डिभाइसमा भाइरस इन्स्टल गरिदिने काम गरिरहेका छन् ।

विश्वव्यापी रुपमा नेटफ्लिक्सबाट कोरियन चलचित्रको लोकप्रियता बढेसँगै साइबर अपराधीहरूले यसलाई पैसा कमाउने राम्रो अवसरको रुपमा लिएका छन् ।

हालै मात्र साइबर सुरक्षा अनुसन्धाकर्ताहरूले गुगल प्ले स्टोरमा स्क्विड गेमको थिम सहितको वालपेपर भएको एप पत्ता लगाएका छन् ।

स्क्विड गेमको वालपेपरको नाममा ह्याकरले सो एपबाट प्रयोगकर्ताको डिभाइसमा मालवेयर इन्स्टल गरेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन् ।

प्ले स्टोरमा ‘स्क्विड गेम वालपेपर फोरके एचडी’ लगायत यो सिरिजसँग सम्बन्धित सयौं यस्ता एपहरू प्ले स्टोरमा उपलब्ध छन्, जसले तपाईंको डिभाइसमा थाहा नहुने गरी भाइरस इन्स्टल हुन्छ ।

यस्ता एप डाउनलोड गर्दा ट्रोजन हर्सले सो एपमार्फत जोकर मालवेयर इन्स्टल गरेर ह्याकरलाई तपाईंको एन्ड्रोइड डिभाइसमा पहुँच दिन्छ र तपाईंको डेटामा ह्याकरको पहुँच हुन्छ, जसको उनीहरूले गलत प्रयोग गर्न सक्छन् ।

त्यसैगरी स्क्विड गेमको नाममा बनाइएको एपहरूमा विभिन्न विज्ञापन राखेर पनि ह्याकरले डिभाइसमा पहुँच पाइरहेका छन् । अनुसन्धानकर्ताका अनुसार प्ले स्टोरले सो एप डिलिट गर्नुभन्दा अगाडि नै करिब पाँच हजारपटक डाउनलोड भइसकेको थियो ।

हाल प्ले स्टोरमा स्क्विड गेमसँग सम्बन्धित करिब दुई सय एप छन्, जुन १० दिनमै १० लाखपटक डाउनलोड भएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१