काठमाडौं । अस्ट्रेलियन संघीय प्रहरी (एएफपी) ले नेटफ्लिक्स, हुलु र स्पोटीफाई अकाउन्टको लग-ईन तथा पासवर्ड चोरी गर्ने एक जनालाई १६ लाख ६० हजार अस्ट्रेलियन डलर (करिब १४ करोड ९० लाख रुपैयाँ) जरिवाना तिराउने भएको छ । सिड्नीमा बस्ने ती व्यक्तिले अमेरिकामा बस्ने अर्का व्यक्तिसँग मिलेर स्ट्रिमिङ सर्भिसका ग्राहकहरूको लगईन पासवर्ड चोरी गरी अनलाइनमा सस्तो मूल्यमा बिक्री गर्दै आएका थिए ।
एफबीआईले हाल बन्द रहेको विकेडजेन डटकम नामक अकाउन्ट जेनेरेटर वेबसाइटको बारेमा जानकारी दिएपछि एएफपीले मे २०१८ देखि यस विषयमा अनुसन्धान सुरु गरेको थियो । विकेडजेन एउटा यस्तो वेबसाइट हो, जसमार्फत चोरी गरिएका अनलाइन सब्सक्रिप्सन सर्भिसका अकाउन्ट डिटेल बिक्री गर्दै आएको थियो ।
जसमा नेटफ्लिक्स, स्पोटीफाई र हलु लगायतका अकाउन्ट डिटेल हुने गरेका थिए । जसबाट अस्ट्रेलिया, अमेरिका लगायतका विभिन्न देशका अज्ञात व्यक्तिहरू पीडित हुने गरेका थिए ।
सिड्नीका ती व्यक्ति विकेडजेन र यस्तै अन्य वेबसाइटका योजनाकार, एड्मिनिट्रेटर र आर्थिक लाभ उठाउने मुख्य व्यक्ति रहेका थिए । विभिन्न चार ओटा वेबसाइटका एक लाख ५० हजार रजिस्टर्ड प्रयोगकर्ताको लग-ईन डिटेल रहेका उनले स्ट्रिमिङ सर्भिसका करिब ८६ हजार सब्सक्रिप्सन एक्सेस गैरकानूनी रुपमा उपलब्ध गराएका थिए ।
सिड्नीका ती व्यक्तिले गत वर्षको अक्टुबरमा लग-ईन तथा पासवर्ड चोरी गरेको विषयमा पश्चाताप गर्दै माफीका लागि याचना गरेका थिए । त्यसपश्चात् एएफपीले फर्जी नाममा उनले खोलेका क्रिप्टोकरेन्सी र बैंक तथा पेपाल अकाउन्ट कब्जामा लिएको थियो ।
जसबाट एएफपीले १६ लाख ६० हजार अस्ट्रेलियन डलर संकलन गरेको र जसमा १२ लाख अस्ट्रेलियन डलर मूल्यको क्रिप्टोकरेन्सी समेत रहेको थियो । ती व्यक्तिबाट उक्त रकम जफत गर्नुका साथै उनलाई २६ महिनाको कैद सजाय समेत सुनाइएको छ ।