close

डेटा र साइबर सुरक्षाका लागि तत्कालै आवश्यक कार्ययोजना अघि बढाउन मन्त्रीको निर्देशन

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १८:९

डेटा र साइबर सुरक्षाका लागि तत्कालै आवश्यक कार्ययोजना अघि बढाउन मन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको साइबर र डेटा सुरक्षाका लागि तत्कालै आवश्यक कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिएका छन् ।

मंगलबार मन्त्रालय सम्वद्ध १८ निकायको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बाेल्दै यस्ताे निर्देशन दिएका हुन् ।

कार्कीले साइबर सुरक्षा अबको चुनौती भएको भन्दै त्यसमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । बैठकमा मन्त्रालय एवं सम्बद्ध निकायले प्रथम त्रैमासिक प्रगति विवरणसमेत प्रस्तुत गरेका छन् ।

सोही क्रममा मन्त्रीले संसार ‘ग्लोबल भिलेज’ मा परिणत भएको हुँदा सञ्चार र प्रविधिको क्षेत्रमा उल्लेख्य सुधार गरी तराई, पहाड र हिमालमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई प्रविधिमैत्री शिक्षामा पहुँच विस्तार गर्नसमेत अनुरोध गरे ।

यसका लागि मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत सबै जिम्मेवार पदाधिकारीले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा उनकाे जाेड थियाे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह अन्तरिक्षमा नेपाललाई आईटीयूले छुट्याएको अर्बिटल स्लटको प्रयोग र नेपालको आफ्नै स्याटेलाइट स्थापनाको प्रगति समीक्षा गर्न अनुरोध गरिन् ।

साथै उनले रुग्ण अवस्थामा रहेको हुलाक सेवाको विविधिकरण एवं व्यवसायिकरण गर्न समेत सुझाव दिएकी थिइन् ।

सोही कार्यक्रममा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले स्वीकृत वार्षिक कार्ययोजनाका लक्ष्य, माइलस्टोन कार्यन्वयनमा तदारुकता देखाउन सबैमा आग्रह गरेका छन् ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१