close

‘प्रयोगकर्ताको सुरक्षामा ध्यान दिन नसकेका मार्क जुकरबर्गले राजिनामा दिनुपर्छ’

टेकपाना टेकपाना

कात्तिक १६, २०७८ १९:३४

‘प्रयोगकर्ताको सुरक्षामा ध्यान दिन नसकेका मार्क जुकरबर्गले राजिनामा दिनुपर्छ’

काठमाडौं । फेसबुककी पूर्वकर्मचारी फ्रान्सिस हेगेनले कम्पनीका सीईओ मार्क जुकरबर्गले राजिनामा दिनुपर्ने बताएकी छन् । हेगेनले लामो समयदेखि फेसबुकको गलत कामको विरोध गर्दै आएकी छन् । उनले फेसबुकभित्र प्रयोगकर्ताको सुरक्षाको विषयमा हुने गरेको लापरवाहीको विषयमा यसअघि सयौं जानकारी सार्वजनिक गरेकी थिइन् ।

पोर्चुगलको लिस्बनका आयोजना भएको वेब समिटमा बोल्दै हेगेनले मार्क जुकरबर्गले प्रयोगकर्ताको सुरक्षालाई कुनै महत्व नदिएको भन्दै राजिनामा दिनुपर्ने बताएकी हुन् ।

‘जुकरबर्गलाई प्रयोगकर्ताको सुरक्षाको विषयमा कुनै महत्व छैन,’ उनले भनेकी छन्, ‘यस्तोमा फेसबुकलाई प्रयोगकर्ताको सुरक्षामा ध्यान दिनसक्ने राम्रो नेतृत्व आवश्यक रहेको छ । यदि फेसबुकबाट जुकरबर्ग बाहिरिने हो भने फेसबुक अझ प्रभावकारी सामाजिक सञ्जालको रुपमा विकास हुनेछ ।’

अघिल्लो सातामात्रै फेसबुकको प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरी मेटा राख्नुको साटो यो समयमा प्रयोगकर्ताको सुरक्षामा ध्यान दिनुपर्ने राय उनको थियो ।

‘यतिबेला मेटाभर्स परियोजनाभन्दा पनि प्रयोगकर्ताको सुरक्षा आवश्यक छ,’ उनले भनेकी छन्, ‘तर, जुकरबर्गलाई सुरक्षा भन्दा पनि ‘पावर’ चाहिएको छ । संस्थाको नाम परिवर्तन गरेसँगै जुकरबर्ग संस्थामा अझ बलियो भएका छन् । किनभने मेटामा मार्क जुकरबर्गसँग आफ्नो ५४ प्रतिशत भोटिङ अधिकार रहेको छ ।’

हेगेनले कम्पनीबाट बाहिरिए जुकरबर्गले बाहिर दुनियाँमा धेरै काम गर्नसक्ने समेत बताएकी छन् ।

‘उनी फेसबुकबाट बाहिरिए दुनियाँलाई नयाँ आयाम प्रदान गर्न सक्छन्,’ हेगेन भन्छिन्, ‘तर, फेसबुक उनका लागि उपयुक्त स्थान होइन । किनकि उनले आफ्ना प्रयोगकर्ताको सुरक्षा गर्नुको साटो अन्य विषयलाई महत्व दिइरहेका छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१