close

नेटफ्लिक्सको पहिलो मोबाइल गेम सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक १७, २०७८ ११:४२

नेटफ्लिक्सको पहिलो मोबाइल गेम सार्वजनिक

काठमाडौं । अनलाइन स्ट्रिमिङपछि अब गेमिङको बजारमा प्रवेश गर्दै नेटफ्लिक्सले आफ्नो स्मार्टफोन गेम सार्वजनिक गरेको छ ।

मंगलबारदेखि कम्पनीले एन्ड्रोइड स्मार्टफोनमा नेटफ्लिक्स एपको नयाँ अपडेट दिन सुरु गरेको छ । सुरुवाती चरणमा नेटफ्लिक्स सदस्यका लागि एपमा पाँचवटा मोबाइल गेम समावेश गरिएकाे छ । भविष्यमा भने यो संख्या बढ्दै जाने कम्पनीले बताएको छ ।

सुरुवाती चरणमा समावेश हुने गेममा स्ट्रेन्जर थिङ्स: १९८४ (Stranger Things: 1984), स्ट्रेन्जर थिङ्स ३: दि गेम (Stranger Things 3: The Game), कार्ड ब्लास्ट (Card Blast), टिटर अप (Teeter Up) र शुटिङ हुप्स (Shooting Hoops) रहेका छन् ।

यी गेम बिना कुनै ईन-एप पेमेन्ट र बिना कुनै विज्ञापन खेल्न सकिने कम्पनीले बताएको छ ।

अहिलेलाई सरल ग्राफिक्स प्रयोग गरेर गेम विकास गरिएको भए पनि आउने दिनमा हरेक प्रकारका गेमरका लागि हुने गरी गेमको विकास गर्दै जाने कम्पनीको योजना छ ।

हाललाई एन्ड्रोइडमा मात्र उपलब्ध यो फिचर छिट्टै नै आईओएसमा पनि उपलब्ध हुनेछ ।

पछिल्लो समयमा एप्पलले एपभित्र पनि हुने अर्को एपको फिचरलाई प्रतिबन्ध लगाउँदै आएको छ ।

यही कारणले नेटफ्लिक्सको गेमिङ फिचर आईओएसमा उपलब्ध नभएको हो भन्ने विषयमा भने कम्पनीले केही बताएको छैन । यद्यपि यो पनि एउटा कारण हुनसक्ने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५