काठमाडौं । अनलाइन भुक्तानीको प्रयोग बढ्दै जाँदा बजारको प्रतिस्पर्धा समेत रोचक बन्दै गएको छ । यसैबीच मोबाइल बैंकिङ कारोबारले डिजिटल वालेटलाई कारोबार सङ्ख्यामा समेत पछाडि पारेका छन् ।
त्यसो त मोबाइल बैंकिङ सेवालाई बैंक खातामा रहेको रकम सोझै प्रयोग गर्न सकिने माध्यम र डिजिटल वालेटलाई अनलाइन भुक्तानीका लागि तुलनात्मक रुपमा धेरै विकल्प रहेको माध्यमको रुपमा बुझिँदै आएको छ । तर पछिल्लो समय भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को सक्रियता बढेसँगै मोबाइल बैंकिङबाटै वालेटका थुप्रै भुक्तानी सम्भव हुन थालेका छन् ।
यद्यपि बैंक खाता लिङ्क गर्ने विकल्प दिन सुरु गरेसँगै वालेटबाटै बैंक खातामा रहेको रकम समेत सोझै प्रयोग गर्न सकिने सुविधा पनि छ । यसले गर्दा डिजिटल वालेटहरूबीच आपसी प्रतिस्पर्धासँगै मोबाइल बैंकिङ सेवाको समेत चुनौती थपिएको छ ।
कारोबार रकममा यस अघि नै मोबाइल वालेटलाई पछि पारिसकेको मोबाइल बैंकिङ सेवाले अहिले आएर कारोबार सङ्ख्यामा समेत डिजिटल वालेटलाई उछिनेको छ । गत वर्षको माघमा कारोबार सङ्ख्यामा मोबाइल बैकिङले डिजिटल वालेटलाई पछि पारेको थियो ।
पछिल्लो आँकडा अनुसार यो असोजमा आइपुग्दा वालेटबाट मासिक एक करोड ३५ लाख ६५ हजार ५४ ओटा भुक्तानी हुँदा मोबाइल बैंकिङबाट एक करोड ३७ लाख ६४ हजार ९८२ ओटा कारोबार भएका छन् । जुन करिब दुई लाख पटकले बढी हो ।
अर्कोतर्फ कारोबार रकममा भने मोबाइल बैंकिङ सेवा करिब छ गुणाले अगाडि छ । गएको असोजमा डिजिटल वालेटबाट १५ अर्ब १८ करोड ७० लाख रुपैयाँको कारोबार भएकोमा सोही अवधिमा मोबाइल बैंकिङबाट ८७ अर्ब ७३ करोड २० लाख रुपैयाँको भुक्तानी भएको छ ।
सामान्यतयाः खुद्रा अनलाइन भुक्तानीमा प्रयोग माध्यमको रुपमा रहेका डिजिटल वालेटको आवश्यकता मोबाइल बैंकिङबाटै पुरा हुन थालेपछि वालेटको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको छ । यद्यपि अनलाइन भुक्तानीको मूल प्रतिस्पर्धा नगद भुक्तानीसँग रहेका कारण सबै अनलाइन भुक्तानीका माध्यमहरूसँग बजार विस्तारको अवसर र सम्भावना भने पर्याप्त छ ।
एक वर्षको अवधिमा डिजिटल वालेटको कारोबार पनि उल्लेख्य रुपमा बढेको छ । गत वर्षको असोजमा नौ अर्ब ८८ करोड ३० लाख रहेको डिजिटल वालेटको कारोबार यस वर्षको असोजसम्म आइपुग्दा १५४ प्रतिशतले बढेको हो ।
तर उता मोबाइल बैंकिङको कारोबार रकममा भने मोबाइल वालेटको तुलनामा झण्डै दोब्बरले वृद्धि देखिएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्षको असोज महिनाको तुलनामा यस वर्षको असोजमा मोबाइल बैंकिङको कारोबार तीन गुणाभन्दा धेरै अर्थात् ३०५ प्रतिशतले बढेको छ ।
गत वर्षको असोजमा २८ अर्ब ८० करोड ४० लाख रुपैयाँ रहेको मोबाइल बैंकिङको कारोबार यस वर्षको सोही अवधिमा बढेर ८७ अर्ब ७३ करोड २० लाख पुगेको छ । हाल सबैजसो बैंकहरूले मोबाइल बैंकिङ सेवा दिँदै आएका छन् भने डिजिटल वालेट अर्थात भुक्तानी सेवा प्रदायकको सङ्ख्या अढाई दर्जन रहेको छ ।