close

अभिभावकले आफ्ना सन्तानको प्रोफाइल नियन्त्रण गर्नसक्ने फिचर ल्याउँदै इन्स्टाग्राम

टेकपाना टेकपाना

मंसिर २२, २०७८ ८:३५

अभिभावकले आफ्ना सन्तानको प्रोफाइल नियन्त्रण गर्नसक्ने फिचर ल्याउँदै इन्स्टाग्राम

काठमाडौं । अभिभावकले आफ्ना बालबालिकाको इन्स्टाग्राम अकाउन्ट नियन्त्रण गर्नसक्ने फिचर आउने भएको छ । इन्स्टाग्रामका प्रमुख एदम मोसेरीले आफ्नो ब्लग पोष्टमार्फत आगामी वर्षदेखि प्यारेन्टल कन्ट्रोल फिचर सुरु गर्ने जानकारी दिएका छन् ।

यो फिचरले अभिभावकलाई आफ्ना बालबालिकाले इन्स्टाग्राममा कति समय बिताए भन्ने जानकारी दिनुका साथै बालबालिकालाई इन्स्टाग्राम कति समयसम्म चलाउने भनेर तोकिदिने छ । आफ्ना बालबालिकाले इन्स्टाग्राममा कुनै व्यक्तिको बारेमा रिपोर्ट गरेमा त्यसको जानकारी अभिभावकलाई समेत जानेछ । 

विशेषगरी बालबालिका र किशोरकिशोरीलाई आफ्नो प्लेटफर्ममा सुरक्षित राख्न इन्स्टाग्रामले विभिन्न फिचर थप गरिरहेको छ ।

इन्स्टाग्रामले किशोरकिशोरीको मनोविज्ञानमा नकारात्मक असर पार्ने विभिन्न अध्ययनको निश्कर्ष सार्वजनिक भइरहेको बेलामा कम्पनीले यस्तो फिचरको घोषणा गरेको हो ।

प्यारेन्टल कन्ट्रोल फिचरसहित अभिभावकलाई सुरक्षित सामाजिक सञ्जाल चलाउने विषयमा शिक्षाप्रद जानकारी दिनको लागि नयाँ फिचर पनि ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि नै आफ्ना प्रयोगकर्तालाई इन्स्टाग्राम केही समय नचलाउनको लागि प्रेरित गर्नेगरी ‘टेक अ ब्रेक’ फिचर सुरु गर्ने घोषणा गरिसकेको छ । केही समयमा यो फिचर सबै प्रयोगकर्ताको लागि उपलब्ध हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२