close

आईफोन १३ किन्ने कि आईफोन १४ कुर्ने ?

टेकपाना टेकपाना

मंसिर २२, २०७८ ११:५२

आईफोन १३ किन्ने कि आईफोन १४ कुर्ने ?

काठमाडौं । एउटा फोन बजारमा आएको कति पनि समय नबित्दै अर्को स्मार्टफोन ल्याउने दौडमा रहेको एप्पलले आईफोन १३ बजारमा आएको केही समय नबित्दै आईफोन १४ को तयारी थालिसकेको छ ।

प्रविधिले यति छिटो फड्को मारिरहेको बेलामा एउटा नयाँ उत्पादन लिनका लागि कति समय पर्खने भन्ने प्रश्न झन् झन् जटिल बन्दै गएको छ । विशेषगरी आईफोन प्रयोगकर्ताको लागि यो प्रश्न जटिल बनेको छ ।

हालै सार्वजनिक भएको आईफोन १३ ले बजारमा राम्रो प्रशंसा पाइरहेको छ । तर यही समयमा एप्पलले आईफोन १४ सार्वजनिक गर्ने चर्चा बजारमा चलिरहेको छ ।

यसले प्रयोगकर्ताहरूलाई फेरि दुविधामा पारेको छ । विशेषगरी आईफोन १३ खरिद गर्ने सोचमा रहेका प्रयोगकर्ता दुविधामा छन् ।

यो दुविधालाई आपूर्तीमा देखिएको समस्याले थप जटिल बनाइदिएको छ । एप्पललाई आईफोन १३ बनाउनका लागि चाहिने सबै उपकरणहरू पाउन कठिनाई भएको छ । फलस्वरुप आईफोन १३ को आपूर्ति विशेषगरी प्रो मोडेलको आपूर्ती बजारमा कम छ ।

विश्वबजारमा अहिले प्रयोगकर्ताले आईफोन १३ प्रो र प्रो म्याक्स अर्डर गरेको करिब १७ दिनपछि मात्र पाइरहेका छन् । यसले गर्दा प्रयोगकर्तालाई एउटा फोनका लागि करिब २० दिन नै कुर्नुपर्ने स्थिति हुदाँ कि आउँदै गरेको नयाँ मोडेलका लागि नै किन नकुर्ने त भन्ने सोच पनि आउन सक्छ ।

यद्यपि आईफोन १३ किन्ने वा १४ पर्खने भन्ने कुरा तपाईंको आवश्यकतामा निर्भर गर्छ । हाल सार्वजनिक भएको आईफोन १३ को सिरिजमा आईफोन १३, १३ मिनी, १३ प्रो र १३ प्रो म्याक्स रहेका छन् ।

यो सिरिजका फोनमा नयाँ जेनेरेसनको चिप, सिनेम्याटिक क्यामेरा फिचर, लामो समयसम्म टिक्ने ब्याट्री, फाइभजी सपोर्ट लगायतका फिचर छन् ।

आईफोन १३ सार्वजनिक भएको तीन महिना मात्र भयो । यसलै पनि यसलाई पुरानो फोन भन्न मिल्दैन । तर यो फोन बजारमा पूर्ण रुपमा आउँदा नआउँदै एप्पलले नयाँ स्मार्टफोनको तयारी सुरु गरिसकेको छ ।

त्यसैले पनि एप्पलले आफ्नो डिभाइस सार्वजनिक गर्ने समयअनुसार अब नौ महिनापछि नै आईफोन १४ पनि सार्वजनिक गर्ने अनुमान गरिएको छ । बजारमा आईफोन १४ सम्बन्धी विभिन्न हल्ला पनि चलिरहेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा चलेको चर्चालाई मान्ने हो भने आईफोन १४ मा ए१६ बायोनिक सिलिकन चिप प्रयोग हुनेछ। जसले फोनको पर्फर्मेन्सलाई थप छरितो र आकर्षक बनाउनेछ । जबकि अहिले आईफोन १३ मा ए१५ बायोनिक चिप प्रयोग भइरहेको छ ।

त्यसैगरी एप्पलले अब आउने सिरिजका फोनहरूको मिनी भर्सन सार्वजनिक नगर्ने पनि बताएको छ । यसको अर्थ हो, १२० हर्ज रिफ्रेस रेट सहितको ६.१ इन्चको डिस्प्ले हुने अनुमान गरिएको आईफोन १४ को मिनी भर्सन हुने छैन । बरु आईफोन १४ म्याक्स आउने अनुमान गरिएको छ ।

त्यस्तै आईफोन १३ मा कम्पनीले नच २० प्रतिशत सानो बनाएको थियो, यद्यपि आईफोन १४ मा भने अब नच नै नहुने बताइएको छ । एप्पलले आईफोन एक्सदेखि टच आईडी हटाएर फेस आईडीको सुरुवात गरेको थियो ।

यद्यपि प्रयोगकर्ताले टच आईडीलाई बढी मनपराएका कारण एप्पलले आईफोन १४ मा टच आईडी उपलब्ध गराउनसक्ने अनुमान पनि गरिएको छ ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२