काठमाडौं । दर्जनौं बैंकका एटीएममा समस्या देखिएकाे छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम प्रालि (नेप्स) को सिस्टममा समस्या आउँदा नेप्सका सदस्य बैंकका लाखौं प्रयोगकर्ताले एटीएमबाट काराेबार गर्न सकेका छैनन् ।
नेप्समा हाल वाणिज्य बैंकतर्फ बैंक अफ काठमाण्डू, सिटिजन बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक, प्राइम कर्मसियल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, सिद्धार्थ बैंक सदस्य रहेका छन् ।
त्यस्तै विकास बैंकतर्फ एक्सेल, ज्योति, लुम्बिनी, सांग्रिला गरी कूल १४ वटा बैंक उक्त सिस्टममा जोडिएका छन् । नेप्समा जोडिएका यी बैंकका ग्राहकले यतिबेला सम्बन्धित बैंकबाहेक अन्य बैंकका एटीएममा कार्ड प्रयोग गर्न सकिरहेका छैनन् ।
यो समस्या दिउँसो १२ बजेदेखि देखिएको हो । हालसम्म पनि कमजाेरी कहाँ छ भन्ने विषयमा पहिचान हुन नसक्दा समस्या कायमै रहेको नेप्सले जनाएको छ ।
नेप्सका अनुसार कम्पनीका सदस्य बैंकका ग्राकहले बैंकको आफ्नै एटीएममा कारोबार गर्न सक्छन् । तर, अन्य बैंकको एउटै सिस्टम भएता पनि अर्को बैंकको एटीएममा गएर कार्ड प्रयोग गर्दा काम गर्दैन । यो समस्या समाधानका लागि काम भइरहेको भएता पनि समाधान भने भएको छैन ।