काठमाडौं । नेपालकी पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छन् ।
लिभिङ विथ आईसीटीले आयोजना गरेको एफवान सफ्ट आईसीटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधामध्ये आईसीटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आईसीटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।
प्रधानलाई एनसेलले आईसीटी क्षेत्रमा उनको योगदानको कदर गर्दै विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एण्ड इन्क्लुशन (डीइआई) लाई सधै प्रोत्साहन गर्ने कम्पनीको नीति अनुरुप आईसीटी अवार्डमा आवद्ध भई ३ लाख रूपैयाँ नगद सहित पुरस्कार प्रदान गरेको हो ।
प्रधानले नेपालको आईसीटी क्षेत्रमा ३५ वर्षदेखि अनवरतरुपमा योगदान दिएकी छन् । नेपाल टेलिकम तथा सरकारी संस्थामा मात्रै करिब ३१ वर्ष महत्वपूर्ण स्थान र पदमा रही काम गरेकी प्रधान हाल वुमन इन आईटी संस्थालाई नेतृत्व गरिरहेकी छिन् ।
प्रधानले नेपाल टेलिकमको कम्प्युटर इन्जिनियरको रूपमा करियर सुरु गरेकी थिइन् भने प्रवक्ता र निर्देशक पदमा रहेर काम गरेकी थिइन् ।