काठमाडौं । सरकारले एकीकृत एसएमएस गेटवे सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम, एनसेल र सरकारी निकायहरूसँगको सहकार्यमा सूचना प्रविधि विभागले बुधबारदेखि याे सेवा सञ्चालनमा ल्याएकाे हाे ।
यो विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा त्रिपक्षीय सम्झाैता भएको छ । जसमा सरकारी निकायको रुपमा पहिलो चरणमा महान्यायाधिवक्ताको कार्यालय, यातायात विभाग, बागमती प्रदेशअन्तर्गतको यातायात कार्यालय जोडिएका छन् ।
एसएमएस सेवा उपलब्ध गराउन दूरसञ्चार सेवाप्रदायकको रुपमा नेपाल टेलिकम र एनसेल यसमा जोडिएका छन् । याे सेवामा जोडिने सरकारी निकायले जम्मा २० पैसा प्रतिएसएमएस आफ्ना सेवाग्राहीलाई म्यासेज पठाउनसक्ने विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले जानकारी दिए ।
‘सबै सरकारी निकायलाई एसएमएसमा एकद्धार प्रणालीमा ल्याउने उद्देश्यका साथ यसको सुरुवात गरिएको हो । यसले सरकारी निकायलाई सस्तोमा एसएमएस सेवा सदुपयोग गर्न समेत मद्दत पुग्नेछ,’ उनले भने ।
हाल विभिन्न सरकारी संस्थाले आफ्नो तहबाट आफैंले सेवाप्रदायकसँग सम्झौता गरेर एसएमएस सेवा दिइरहेका छन् । त्यो हुँदा एउटा एसएमएसको एक रुपैयाँ २५ पैसासम्म पर्न जान्छ ।
तर, एनसेल र नेपाल टेलिकमसँगको सहकार्यमा सुरु गरिएको यो गेटवेले २० पैसामै एसएमएस पठाउनसक्ने सुविधा दिनेछ ।
याे प्रणालीमा विस्तारै अन्य सरकारी संस्थासमेत थपिँदै जाने श्रेष्ठले बताए ।