काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खानेपानीको बिल अनलाइन भुक्तानी सेवा दिनका लागि डिजिटल वालेट मध्ये ई-सेवा फोनपे प्रालि मात्र छनौटमा परेको छ । बैंकतर्फ भने एनएमबी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छनौट भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
ग्राहकबाट अनलाइन मार्फत महशुल भुक्तानी गर्ने व्यवस्था मिलाउन भन्दै केयूकेएलले गत कात्तिक १२ मा इच्छुक सेवाप्रदायकहरूबाट प्रस्ताव माग गरेको थियो । जसका लागि सात ओटा वालेट र चार ओटा बैंकले प्रस्ताव दर्ता गराएका थिए । आवेदन दिनेमा खल्ती, आईएमई पे, आई क्याश लगायतका वालेट समेत रहेका थिए ।
तर बाँकी आवेदन दिने छ ओटा वालेट र दुई ओटा बैंक आफ्नो स्वीकृत कार्यक्षेत्रगत शर्तको आधारमा अयोग्य ठहर भएको केयूकेएलले जनाएको छ । हस्ताक्षर र छाप नभएको जस्ता विभिन्न बहाना देखाएर अन्य वालेटलाई खानेपानीको बिल भुक्तानीमा निषेध गरिएको प्रस्तावक एक भुक्तानी सेवाप्रदायकका सीईओले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘यो कुनै एउटालाई छनौट गर्ने टेन्डर थिएन,’ उनले भने, ‘नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त यतिधेरै सेवाप्रदायकलाई अयोग्य बनाउनु न्यायोचित छैन ।’