काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमीले अटो क्षेत्रमा लगानी गर्ने विषय धेरै समयदेखि चर्चामा छ । पछिल्लो समय एप्पल, ह्वावेजस्ता ठूला प्रविधि कम्पनी अटो क्षेत्रमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । यस्तोमा साओमीले पनि आफ्नै ब्राण्डमा इलेक्ट्रिक कार उत्पादन गर्ने भएको छ ।
कम्पनीले सन् २०२४ को पहिलो छ महिनाभित्र कार उत्पादनको काम सुरु हुने बताएको हो । ‘साओमी कारको ठूलो मात्रामा उत्पादन सन् २०२४ को पहिलो ६ महिनाबाट सुरु हुनेछ,’ कम्पनीका सीईओ ली जुनले भनेका छन्, ‘बजारमा भने सोही वर्षको अन्त्यबाट उपलब्ध हुनेछ ।’
उनले गाडी उत्पादनको प्रक्रिया कम्पनीको योजनाभन्दा द्रुत गतिमा अघि बढिरहेको बताउँदै चाँडै इलेक्ट्रिक कारको टेस्ट तथा प्रि-प्रडक्सनको काम सुरु हुने समेत बताए ।
सन् २०२४ नै किन भन्ने विषयमा भने उनले कुनै जानकारी दिएका छैनन् । तर, सन् २०२५ बाट एप्पलले बजारमा कार उत्पादन गरी बिक्री गर्ने योजना बनाएको छ । त्योहुँदा एप्पल्भन्दा अघि नै बजारमा प्रवेश गरी बजार स्थापित गर्ने योजनामा साओमी रहेको देखिन्छ ।