काठमाडौं । कुनै समयमा मोबाइल बजारमा राज गरेको ब्ल्याकबेरी अब सधैंका लागि बन्द हुने भएको छ । हुन त योभन्दा अगाडि पनि यो कम्पनी बन्द हुने विषयमा धेरै चर्चा चलेको थियो । तर योपटक भने साँच्चै सधैंका लागि बन्द हुँदैछ ।
कम्पनीले एक सूचना जारी गर्दै जनवरी ४ देखि ब्ल्याकबेरी ७.१ सफ्टवेयरमा आधारित कुनै पनि फोन, ट्याब्लेटहरू चल्ने छैनन् । वाई-फाई वा डेटा वा सिम नै भएपनि ब्ल्याकबेरीका कुनै पनि उत्पादन अब चल्ने छैनन् ।
हुन त नेपाली बजारमा यसको प्रयोग त्यति भएको छैन र कमै प्रयोगकर्ताले यो फोन प्रयोग गरिरहेको हुनसक्छ । यदि ब्ल्याकबेरीको आफ्नै सफ्टवेयरबाट सञ्चालित फोन तपाईंले बोकिरहनु भएको छ भने अब भने तपाईंले फोन परिवर्तन गर्ने बेला आएको छ ।
यद्यपि एन्ड्रोइड अपरेटिङ सिस्टम भएको ब्ल्याकबेरी फोन भने चल्ने बताइएको छ ।
सन् २००० को अन्त्यसँगै ब्ल्यकबेरीको बजारमा पनि खस्किँदै गएको थियो । समयसँगै यसले आफ्नो डिजाइन लगायत अन्य फिचरलाई परिवर्तन गर्न नसक्दा यो फोनले बजार पाउन सकेको थिएन । यद्यपि सन् २०१३ मा कम्पनीले नयाँ अपरेटिङ सिस्टमसहित फोनलाई अपग्रेड गर्ने प्रयास गर्दै ब्ल्याकबेरी १० बजारमा ल्याएको थियो ।
तर प्रयोगकर्ताले यसलाई त्यति मन पराएनन् । त्यसपछि सन् २०१६ मा थर्ड पार्टी कम्पनी टीसीएलसँग मिलेर ब्ल्याकबेरीले बजारमा नयाँ फोन ल्याउने प्रयास पनि सफल हुन सकेन ।
सन् २०२० मा अनवार्ड मोबिलिटी नामक कम्पनीसँग मिलेर फाइभजी ब्ल्याकबेरी ल्याउने कुरा पनि छलफलमा नै सीमित भएपछि अब भने यो ब्राण्ड सधैंका लागि बन्द हुँदैछ ।