close

दोस्रो स्थानका बेजोसभन्दा एलन मस्कको सम्पत्ति १२७ खर्ब बढी

टेकपाना टेकपाना

पुस २२, २०७८ १८:५५

दोस्रो स्थानका बेजोसभन्दा एलन मस्कको सम्पत्ति १२७ खर्ब बढी

काठमाडौं । स्पेसएक्स तथा टेस्लाका मालिक एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा अब्बल देखिएका छन् । हालै मस्कको सम्पत्ति ३०० अर्ब अमेरिकी डलर पुगेको छ ।

विश्वका धनी व्यक्तिहरुको जानकारी राख्दै आएको फर्च्युन म्यागेजिनका अनुसार टेस्लाको शेयर मूल्य आकासिँदा मस्ककाे सम्पत्ति ह्वात्तै बढेकाे छ । सन् २०२१ मा नाै लाख ३६ हजारभन्दा बढी कार बिक्री भएको प्रतिवेदन सार्वजनिक भएसँगै टेस्लाको शेयर मूल्य बढेको थियो ।

त्यो हुँदा मस्कको सम्पत्तिमा कुल ३२.६ अर्ब अमेरिकी डलर थप भएको छ । योसँगै दोस्रो नम्बरमा रहेका अमेजनका मालिक जेफ बेजोससँगकाे उनकाे अन्तर निकै बढेकाे छ ।

बेजोसको सम्पत्ति हाल १९३ अर्ब डलर रहेको छ । यसअनुसार बेजोसको तुलनामा मस्कको सम्पत्ति १०७ अर्ब डलर (१२७ खर्ब रूपैयाँभन्दा धेरै) बढी छ ।

टेस्लामा मस्कको कूल १५.६ प्रतिशत शेयर रहेको छ । साथै उनको आफ्नै स्पेस कम्पनी स्पेसएक्स समेत रहेको छ । जसले अन्तरिक्षका साथै स्याटालाइटमार्फत विश्वव्यापी रुपमा इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

यस्तै धेरै कम्पनीसँग जोडिएकाले पनि उनको सम्पत्तिमा उल्लेख्य वृद्धि भएको जनाइएको छ । साथै उनलाई भविष्यमा ट्रिलियन डलर सम्पत्ति हुने व्यक्तिको रुपमा पनि हेरिएको छ ।

यस्ता छन् विश्वका १० धनाढ्य

एलन मस्क : ३०० अर्ब डलर

जेफ बेजोस : १९३ अर्ब डलर

बर्नार्ड आन्र्लट : १८० अर्ब डलर

बिल गेट्स : १३८ अर्ब डलर

ल्यारी पेज : १२८ अर्ब डलर

मार्क जुकरबर्ग : १२६ अर्ब डलर

सर्गे ब्रेन : १२३ अर्ब डलर

स्टिभ बालमर : ११७ अर्ब डलर

वार्नर बफेट : ११२ अर्ब डलर

ल्यारी इलिसन : ११० अर्ब डलर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५