close

सामसङ ग्यालेक्सी एस २१ एफई सार्वजनिक, यस्तो छ फिचर

टेकपाना टेकपाना

पुस २८, २०७८ १६:१६

सामसङ ग्यालेक्सी एस २१ एफई सार्वजनिक, यस्तो छ फिचर

काठमाडौं । सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्र सीईएस २०२२ मा घोषणा भएको यो फोन सार्वजनिक भएको हो । स्न्यापड्र्यागन ८८८ चिपसेटमा आधारित सामसङको स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.४ इन्चको एमोलेड डिस्प्ले छ । त्यस्तै यो फोनमा ४,५०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । यो फोन ६ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । 

तीन वटा मुख्य क्यामेरा सेट अप भएको यो फोनमा १२ मेगापिक्सेलको प्राइमरी क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा उपलब्ध छ । साथै फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि छ । सुरुवाती मूल्य ६९९ डलर अर्थात् करिब ८२,५०० रुपैयाँ रहेको फोनमा कम्पनीले करिब ५६० डलर सम्मको ग्यालेक्सी एयर बड पनि सित्तैमा दिँदै छ । 

हाललाई यो स्मार्टफोन अमेरिका, बेलायत र अस्ट्रेलियाको बजारको लागि मात्र सार्वजनिक भएको हो । यद्यपि सामसङ ग्यालेक्सीको निकै नै चर्चामा रहेको स्मार्टफोन ग्यालेक्सी एस २२ पनि सार्वजनिक हुने तयारीमा नै रहेको हुँदा प्रयोगकर्तालाई भने कुन फोन खरिद गर्ने भन्ने विषयमा केही द्विविधा भने हुन सक्छ । 

प्रोसेसरको कुरा गर्ने हो भने ग्यालेक्सी एस २२ मा स्न्यापड्र्यागन ८ जेन १ चिप प्रयोग गरिएको छ । यसले गर्दा एस २२ नै उत्कृष्ट हुन्छ कि भन्ने भए पनि यसमा ब्याट्री ३७०० एमएएचको मात्र उपलब्ध हुने बताइएको कारण भने प्रयोगकर्ताको लागि एस २१ एफई पनि उत्कृष्ट हुन सक्छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२