काठमाडौँ । डिशहोमले नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आफ्ना ग्राहकका लागि वार्षिक अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो इन्टरनेट र टेलिभिजन दुवै सेवामा केन्द्रित भई बोनस-आधारित योजनाहरू ल्याएको हो ।
पछिल्लो समय बढ्दो सञ्चालन खर्च र पूर्वाधार विस्तारका कारण मूल्य संरचनामा सामान्य समायोजन गरे पनि ग्राहकलाई थप राहत दिन कम्पनीले अतिरिक्त सेवा अवधिको योजना ल्याएको जनाएको छ । यो योजना विशेषगरी वार्षिक नवीकरण बढाउने र निष्क्रिय ग्राहकलाई पुनः सक्रिय बनाउने उद्देश्यले ल्याइएको हो ।
इन्टरनेट सेवामा ३ महिनासम्मको बोनस
डिशहोम फाइबरनेटका पुराना ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका प्याकेजमा १५ देखि ६० दिनसम्मको बोनस प्राप्त गर्नेछन् । यदि ग्राहकले सेवा बन्द हुनुभन्दा १५ दिन अगावै रिचार्ज गरेमा थप ३० दिन 'प्रि-डिस्कनेक्शन' बोनस पाउनेछन् । यसरी ग्राहकले कुल ४५ देखि ९० दिन (३ महिना) सम्मको अतिरिक्त इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ३० दिनभन्दा बढी समयदेखि सेवा बन्द रहेका ग्राहकले ५० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मको कुनै पनि प्याकेज रिचार्ज गरेमा सिधै ९० दिनको बोनस पाउनेछन् । यस्ता ग्राहकका लागि ड्रपवायर र रिलोकेसन शुल्क समेत निःशुल्क गरिएको कम्पनीले जनाएको छ । नयाँ जडान गर्ने ग्राहकका लागि २०० एमबीपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा दुई महिनाको बोनस उपलब्ध गराइनेछ ।
डीटीएच सेवामा तीन महिनासम्मको अतिरिक्त सुविधा
डिशहोमको टेलिभिजन सेवा प्रयोग गर्ने ग्राहकका लागि पनि वार्षिक रिचार्जमा अफर ल्याइएको छ । नियमित र निष्क्रिय ग्राहकले वार्षिक रिचार्ज गर्दा दुई महिनाको बोनस पाउनेछन् । साथै, सेवा सकिनु १५ दिन अगावै रिचार्ज गर्ने ग्राहकले थप एक महिना गरी कुल तीन महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर 'इयरली मल्टि-टिभी' प्याकेजहरूमा मात्र लागु हुनेछ ।
कम्पनीका अनुसार इन्टरनेट सेवाको रिचार्ज अफर आगामी २० चैत्र २०८२ देखि १५ वैशाख २०८३ सम्म रहनेछ । त्यस्तै, इन्टरनेटको नयाँ जडान अफर १ वैशाखदेखि ३१ वैशाख २०८३ सम्म र डीटीएचतर्फको अफर १ वैशाखदेखि ३२ असार २०८३ सम्म लागु हुनेछ ।
कम्पनीले यसपटक आफ्ना पुराना साना अफरहरू हटाएर एकीकृत वार्षिक योजनामा जोड दिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८३ १७:४८
